प्रमुख कार्यकारी अधिकृत फेर्ने विषयमा बैंक अफ काठमाण्डूमा खटपट

  २०७४ असार ११ गते १७:३१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूमा प्रमुख कार्यकारी अधिकृतको विषयमा खटपट शुरु भएको छ । प्रमुख कार्यकारी अधिकृत फेर्ने विषयमा बैंकका सञ्चालकहरुबीच सहमति जुटेको तर नयाँ व्यक्ति कसलाई ल्याउने भन्ने विषयमा कुरा नमिलेको स्रोतले बतायो ।

चार वर्षको अवधि तोकेर गत असारमा मात्र नियुक्त भएका बैंक अफ कण्ठमाण्डूका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठलाई एक वर्ष पुरा नहुँदै विदा गर्ने तयारी भएको बुझिएको छ । संस्थागत सुशासनतर्फ अब्बल काम गरेपनि व्यवसाय विस्तारमा सन्तोषजनक नतिजा नदेखिएको भन्दै बैंकले श्रेष्ठलाई विदा गर्न लागेको स्रोतले बतायो ।

‘दुई स्वस्थ्य वाणिज्य बैंक मर्जपछि पुँजीको अनुपातमा व्यापार विस्तार हुन सकेन । दुई पुराना बैंक मर्जपछि बनेको बैंक प्रतिस्पर्धामा जति अगाडि बढ्नु पर्ने हो, त्यति अगाडि जान सकेन’ स्रोतले भन्यो ।

नयाँ सीईओ कसलाई ल्याउने भन्नेमा भने सञ्चालकहरुबीच मतभेद देखिएको छ । अध्यक्ष प्रकाश श्रेष्ठसहित लुम्बिनी बैंकको तर्फबाट आएको सञ्चालकहरु सोभनदेव पन्तलाई नियुक्ती गर्न चाहेका छन् । पन्त मर्जपूर्व लुम्बिनी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । उनी सो बैंकको महत्वपूर्ण सेयरधनी पनि हुन् ।

सञ्चालकहरु सञ्जय बहादुर शाह, राधेश पन्त लगायत अन्य सञ्चालकहरुले अनिल केसरी शाह, किशोर महर्जन, तुलसी गौतम, उपेन्द्र पौडेल, सुमन जोशीको नाम अगाडि सारेका छन् । पन्त र पौडेल दुबै सो बैंकको सीईओ पदमा फर्कन कम इच्छुक देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.