काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका एक हजार पाँच सय जनालाई बुधबारदेखि ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भएको छ । यातायात व्यवस्था विभागले गोला प्रथाद्वारा तीन दिनसम्म नम्बर वितरण गर्न लागेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।
विभागले एउटै वास्केटमा हालेर गोलाप्रथा गर्दा जिल्ला र आवेदकअनुसार ट्याक्सी नपर्ने सम्भावना देखिएको जिल्ला र आवेदकको आधारमा नम्बर प्लेट वितरण गर्न लागेको हो । विभागले यस अघिनै ट्याक्सी नम्बर प्लेट वितरण गर्ने बताए पनि स्थानीयत निकायको चुनावलगायतका कारणले नम्बर प्लेट वितरणको मिति सार्दै आएको थियो ।
विभागका अनुसार काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोलाप्रथाबाट ट्याक्सी नम्बर वितरण गर्न लागेको हो । यी तीन जिल्लाका ४८ हजार नौ सय ६५ जना भूकम्प पीडितले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन हालेका थिए ।
बिहीबार असार ८ गते दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पाँच सय १३ आवेदकलाई गोलाप्रथाबाट नै ट्याक्सी नम्बर वितरण गर्ने विभागको कार्यतालिका बनाएको छ । यी तीन जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ५१ हजार तीन सय १२ जनाको आवेदन दिएका थिए । गोलाप्रथाको अन्तिम दिन शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुगा, गोरखा र रसुवाका चार सय ९६ भूकम्पपीडितलाई ट्याक्सी नम्बर गर्ने भएको छ । यी आठ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ४९ हजार तीन सय ११ जनाले आवेदन दिएका छन् ।
विभागले गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लाका आमनागरिकसँग आवेदन लिएको थियो । ट्याक्सी नम्बर प्लेटका लागि कुल एक लाख ४९ हजार पाँच सय ८८ आवदेक भूकम्प पीडितले आवेदन दिएका थिए । आवेदन दिएका एक हजार ५ सय भूकम्प पीडितलाई ट्याक्सी वितरण गर्न लागेको हो ।