१० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन अर्थमन्त्रालयको स्वीकृति, एकै पटक २० अर्ब रुपैयाँ लगानी हुने

  २०७४ जेठ ३ गते २०:१५     रामकृष्ण पौडेल

काठमाडौं । अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीहरुलाई सञ्चालन अनुमति अर्थात लाईसेन्स वितरण गर्न बीमा समितिलाई स्वीकृति दिएको छ । बुधबार अर्थमन्त्री कृष्णवहादुर महराले बीमा समितिको सिफारिस अनुसार १० वटै जीवन बीमा कम्पनीलाई लाईसेन्स दिने फाइल सदर गरेको स्रोतले बतायो ।

‘बीमा समितिको सिफारिस बमोजिम १० वटै कम्पनीहरुलाई लाईसेन्स दिन सहमति दिने निर्णय भएको छ । लाईसेन्स वितरण गर्ने काम बीमा समितिले गर्छ’ अर्थमन्त्रालय स्रोतले बतायो ।

बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई लाईसेन्स दिने सहमति माग्दै मन्त्रालयमा सिफारिस गरेको थियो । सबै कम्पनीहरूलाई लाईसेन्स दिन मन्त्रालयले स्वीकृति दिएको छ ।

१० वटा कम्पनीले लाईसेन्स पाएपछि अब नेपालमा जीवन बीमा कम्पनी १९ वटा हुने भएका छन् । निर्जीवन तर्फ हाल १७ वटा कम्पनी छन् भने ४ वटा नयाँ खुल्ने प्रक्रियामा छन् ।

नयाँ खुल्ने जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनेछ । एकै पटक १० वटा कम्पनी खुल्दा जीवन बीमा बजारमा २० अर्ब रुपैयाँ नयाँ लगानी हुने भएको छ ।

हाल बजारमा ९ वटा जीवन बीमा कम्पनी भएपनि २ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पुँजी भएको कम्पनी एउटा मात्र छ, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी । ठूलो पुँजी लिएर धेरै कम्पनी बजारमा आउँदा बीमा बजारको पहुँच वृद्धिको साथै चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

जीवन बीमा सेवा सञ्चालन गर्नको लागि १२ वटा कम्पनीले बीमा समितिमा आवेदन गरेकोमा स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनिलाईफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बीमा समितिले सिफारिस गरेको छैन । बीमा समितिले तोके अनुसार कागजात तथा विवरण बुझाउन नसकेकाले दुई कम्पनीलाई लाईसेन्स दिन सिफारिस गर्न नसकिएको बीमा समिति स्रोतले बतायो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.