काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको कुल अर्थतन्त्र २५ खर्ब ९९ अर्ब पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । गएको वर्ष यस्तो नेपालको अर्थतन्त्र २२ खर्ब ४७ अर्ब रहेको छ । त्यसरी नै एक नेपालीको प्रतिव्यक्ति आय (जीएनआई)९१ हजार चार सय ८८ रुपैयाँ पुग्ने अनुमान विभागको छ । गत वर्षको तुलनामा यो झण्डै ११ हजारले बढी हो । गएको वर्ष यस्तो आय ८० हजार पाँच सय २५ रुपैयाँ रहेको थियो । प्रतिव्यक्ति आय अमेरिकी डलरमा भने आठ सय ६२ डलर पुगेको छ भने गएको वर्ष अमेरिकी डलरमा प्रतिव्यक्ति आय सात सय ६७ थियो ।
चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ९४ प्रतिशत पुग्ने अनुमान गरेको छ । यस अघि २०५०÷५१ मा यस्तो बृद्धिदर ८ दशमलव २ प्रतिशत रहेको थियो । चालू आवमा हासिल हुन लागेको आर्थिक बृद्धिदर त्यस यताकै उच्च हो । त्यसपछि वि.स २०५६÷५७ मा ६ दशमलव २ पुगेको थियो ।

अनुकुल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, पुनर्निर्माणका कार्यले लिएको गति र ऊर्जा संकट समाधानका कारण देशको अर्थतन्त्र चालु आर्थिक बर्षमा सकारात्मक दिशातर्फ बढेकोले आर्थिक बृद्धिदर माथि उक्लिएको विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले बताए । ‘वैदेशिक रोजगारबाट प्राप्त रेमिटन्स उत्पादनमूलक क्षेत्रमा लगानी हुँदै जानु, कृषिमा व्यवसायीकरण हुनु, राजनीतिक स्थिरता तर्फ देश उन्मुख हुनु चुनावी वातावरण बन्दै जानु, बन्द हड्ताल जस्ता कार्यमा आएको कमी तथा सरकारले लिएका उत्पादनमुलक नीति कार्यान्वयन पक्ष सुधारले आर्थिक बृद्धिदर बढाउन सघाएको हो,’ सुवालले भने ।
गएको वर्ष भुकम्पको प्रभाव, प्रतिकूल मौसमका कारण कृषि उत्पादनमा आएको गिरावट, ६ महिना लामो सीमानाकामा भएको अवरोध तथा बन्द हड्तालका कारण देशको अर्थतन्त्रमा चिन्ताजनक रुपमै गिरावट आएको थियो । गएको आर्थिक वर्षमा बृद्धिदर शुन्य दशमलव १ प्रतिशत आर्थिक बृद्धिदर भएको संशोधित अनु्मान पनि तथ्यांक विभागले सार्वजनिक गरेको छ । विभागले गत वर्षको आर्थिक बृद्धिदर शुन्य दशमलव ७७ प्रतिशत हुने अनुमान गरेको थियो ।
चालु आर्थिक वर्ष २०७३÷७४ को छ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित तथ्यांकहरूको आधारमा तयार गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को स्थिर मूल्य बृद्धिदर आधारभूत मूल्यमा आर्थिक बृद्धिदर ६ दशमलव ९४ प्रतिशत हुने प्रारम्भिक अनुमान विभागले गरेको हो ।
समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर तथ्यांक विश्लेषण गर्दा विगत तीन बर्षमा प्राथमिक क्षेत्रको कुल गार्हस्थमा योगदान केही घट्न गएको देखिन्छ । भने सेवा क्षेत्रको योगदान केही बढ्न गएको देखिन्छ । तर, द्वितीय क्षेत्रको योगदानमा खासै घटबढ भएको देखिदैन । कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदन ३० प्रतिशत, द्वितीय क्षेत्रको १४ प्रतिशत र ५५ दशमलव ९९ प्रतिशत योगदान रहने विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक वर्षको जीडीपीमा कृषि क्षेत्रले २९ दशमलव ३७ प्रतिशत तथा गैर कृषि क्षेत्रले ७० दशमलव ६३ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।