सेयर कारोबार गर्ने ७०० कम्पनी गैरकानुनी, २० वटा कम्पनीको कार्यकारी प्रमुख एउटै व्यक्ति, बजार अस्थीर बनाउने खेलाडीको नाम गोप्य

  २०७३ माघ ११ गते १४:००     विकासन्युज

काठमाडौं, ११ माघ । सेयर बजारमा निजीस्तरका करिव ७०० वटा कम्पनीहरुले गैरकानुनी रुपमा कारोबार गर्दै आएको भेटिएको छ । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर किनबेच गर्ने कम्पनीहरुको बारेमा गरेको प्रारम्भिक अध्ययनले त्यस्तो देखाएको हो ।

‘धितोपत्र बजारमा हाल १००० को संख्यामा निजी लगानी कम्पनीहरु रहेको देखिएको छ’ अध्ययन रिपोर्टबारे प्रारम्भिक जानकारी दिदै धितोपत्र बोर्डले भनेको छ–‘धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यसहित स्थापना भएका कम्पनीहरु ३०० (करिब एक तिहाई) को हाराहारीमा मात्र रहेको छ ।’

साथै एउटै व्यक्ति कार्यकारी प्रमुखको रुपमा रही २० वटा सम्म लगानी कम्पनीहरु स्थापना गरी धितोपत्र कारोबार गरिरहेको पनि देखिएको छ । यसरी कारोबार गर्ने कम्पनीहरुले बजार अस्थिर बनाउने र सामान्य लगानीकर्तालाई फराउने काम गर्छन । यस्तो कारोबारी कम्पनी तथा सेयर बजारका खोलाडीको नाम भने धितोपत्र बोर्डले गोप्य राखेको छ ।

अधिकांश कम्पनीहरुको लगानीको उद्देश्य हेर्दा धितोपत्र बजारमा लगानी गर्ने उद्देश्य नदेखिएता पनि धितोपत्र बजारमा लगानी गरिरहेको देखिएको धितोपत्र बोर्डले जनाएको छ । कम्पनी रजिष्ट्रार प्रेमकुमार श्रेष्ठका अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उदेश्य नखुलाई गरिएको सबै कारोबार गैरकानुनी हुन्छ ।

लगानीकर्ताको अनुशासित एवम् विवेकशिल संलग्नताबाट धितोपत्रबजार स्वच्छ, प्रभावकारी र विश्वासिलो हुने परिप्रेक्ष्यमा बजारमा के कस्ता लगानीकर्ताहरुको उपस्थिति एवम् संलग्नता रहेको छ भन्ने तथ्य यकिन हुन आवश्यक देखिन्छ । यसका लागि बोर्डले हालै धितोपत्रको दोस्रो बजारमा निजी लगानी कम्पनीहरुको स्थिति पत्ता लगाई यिनीहरुको गतिविधि व्यवस्थित गर्ने उद्देश्यले दोस्रो बजारमा इन्भेष्टमेन्ट कम्पनी सम्बन्धी प्रारम्भिक अध्ययन गरेको छ । बजारमा रहेका सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु मार्फत् धितोपत्रको कारोबार गरिरहेका लगानी कम्पनीहरु सम्बन्धी विवरण माग गरी प्राप्त विवरणलाई अध्ययनको मुख्य आधार बनाइएको बोर्डले जनाएको छ ।

बजारमा अन्य संस्थागत लगानीकर्ता तथा धितोपत्र व्यापारीको समेत अभाव भएको हालको अवस्थामा यस्ता निजी लगानी कम्पनीहरुलाई व्यवस्थित गर्न आवश्यक देखिएको बोर्डले जनाएको छ । यस सन्दर्भमा यस प्रारम्भिक अध्ययनबाट लगानी कम्पनीको सन्दर्भमा थप अध्ययन गरी यस्ता कम्पनीहरुलाई पँुजीबजारको नियमन दायरामा ल्याउन सहज हुने र यसबाट लगानी कम्पनीहरुको गतिविधी समेत पारदर्शी भर्ई दोस्रो बजार थप व्यवस्थित रुपमा विकास तथा विस्तार हुने बोर्डले अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.