नेपालको रेल वे सञ्जाल-चीन-यूरोप हुँदै भारतसम्म, बिरगञ्ज-रसुवागढी रेल वे भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्ग

  २०७३ मंसिर २९ गते १८:१३     नारायण पाैडेल

काठमाडौं, २९ मंसिर । यतिबेला नेपालले आन्तरिक रेल वे नेटवर्कको विस्तारलाई महत्व दिएर तराईमा पूर्व–पश्चिम रेल मार्गको निर्माण गरिरहेको छ भने रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज जोड्ने रेल वेको सम्भाव्यता अध्ययन पनि अघि बढाइरहेको छ । झट्ट हेर्दा आन्तरिक रेल वे सञ्जाल विस्तार गर्न लागिएको जस्तो देखिए पनि यो नेटवर्कले नेपाललाई यूरोपसम्म पुर्याउँछ ।

rail_way

नेपालले पूर्व काकडभिट्टादेखि पश्चिमको गड्डाचौकीसम्म निर्माण गर्ने ९४५ किलोमिटर लामो रेल मार्ग र रसुवागढी–काठमाडौं रेलमार्ग तथा काठमाडौं हुँदै बिरगञ्ज जोडिने रेल मार्गको परिकल्पनाले सिंगो संसारसँग नेपालको रेल वे सञ्जाल जाेड्ने छ ।

काकडभिट्टाबाट सुरु भएर गड्डा चौकी पुग्ने रेल वेले नेपालाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ मुलुकसँग जोड्ने छ । यो रेल वे लाइन सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश, भारत हुँदै काकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ भने गड्डा चौकीबाट पुनः भारत प्रवेश गरेर पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्किबाट युरोप प्रवेश गर्नेछ ।

nepal_railway

यो नेटवर्कमा यी मुलुक बाहेक रसिया, अर्मेनिया, अजरवैजान, कोलम्बिया, चीन, इण्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरिया, ताजिकिस्तान, भियतनाम र उज्वेकिस्तान लगायतका मुलुक पनि समेटिन्छन् ।

अर्कातिर नेपालले बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनको प्रारम्भिक सम्भाव्यता अध्ययनको तयारी गरिरहेको छ । यो रेल वे लाइन चीन–युरोप रेल वे लाइन हुँदै साइबेरियन रेल वे नेटवर्कसम्म जोडिन्छ । जसले नेपाललाई चीन, मंगोलिया, रसिया हुँदै युरोपसम्म पुर्याउँछ । यो रेल वे नेटकर्वकलाई आइरन शिल्क रोड अर्थात फलामको शिल्क रोडका रुपमा पनि हेर्ने गरिएको छ ।

यसरी दुई तिरबाट युरोपसम्म जोडिने रेल सञ्जालले नेपाललाई लगानीको उपयुक्त गन्तव्यका रुपमा स्थापित गराउन सक्नेछ । नेपालमा औद्योगीकरण, पर्यटन प्रवद्र्धनका साथै कृषिमा आधुनिकीकरणको सम्भावनालाई पनि बढाउँछ ।

बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनलाई भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा हर्ने गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय बताउँछन् । ‘बिरगञ्जबाट काठमाडौं हुँदै चीन भएर रसिया पुग्ने रेल लाइनले भारत र रसियालाई जोड्छ जसले नेपालमा लगानीको सम्भावनालाई पनि बढाउँछ’, उपाध्यायले भने ।

पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा विस्तार गर्न लागिएको रेल वे सञ्जालले रणनीतिक महत्व राख्ने बताए । ‘रसुवागढीको रेल चिन, मंगोलिया हुँदै रसियासम्म जान्छ । केरुङबाट चीन युरोप रेल वे सर्भिस हाम्रा लागि उपयुक्त हो’ डा. आचार्यले भने ।

rail_oppertunity९ हजार २ सय ८९ किलोमिटर लामो ट्रान्स एसियन रेल वे लाइनले पनि नेपाललाई विकासको मार्गमा संसारसँगै कुदाउने उप महानिर्देशक उपाध्याय बताउँछन् । पानी जहाजबाट समान ढुवानी गर्दा दुई महिना लाग्ने दुरी रेल मार्गबाट एक हप्तामै पार गर्न सकिने उनले दावी गरे ।

उनका अनुसार नेपालले निर्माण सुरु गरेको पुर्व पश्चिम रेल वेको क्षमता प्रति घण्टा २०० किलोमिटरको हुनेछ । ‘हामीले सिंगल लेनको रेल वे निर्माण गरिरहेका छौं, त्यसमा प्रति घण्टा २०० किलोमिटर स्पिड कायम हुन्छ, जुन अन्तराष्ट्रिय स्तरकै हो’, उपाध्यायले भने ।

विभागले हाल बर्दिबास–बुटवल खण्डको २०० किलोमिटरमध्ये बर्दिबास–सिमराको १०८ किलोमिटर क्षेत्रमा २५ किलोमिटरको काम अघि बढाएको छ । सो रेल मार्ग निर्माणका लागि प्रति किलोमिटर औसत लागत ४५ करोड लाग्ने प्रक्षेपण अनुसार काम भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.