३००० बिन्दु पार गरेको नेप्सेमा करेक्सन, दुई इन्स्योरेन्ससहित ८ कम्पनीको मूल्यमा सर्किट

  २०७८ ज्येष्ठ २६ गते ३:४९       विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ । कारोबार शुरु भएको केही अवधिमै ३००० बिन्दु पार गरेको नेप्से परिसूचक अन्ततः १३.५६ अंकले ओरालो लागेर २९४६.५८ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा ०.४६ प्रतिशतले घटी हो ।

बुधबार नियमित बजार खुलेको ३ मिनेटमै अर्थात ११ बजेर ३ मिनेट जाँदा नेप्से परिसूचक ३००३ बिन्दु पार गरेको थियो । जुन हालसम्मकै नयाँ उचाई हो । तर त्यसपछिको कारोबारमा भने परिसूचक ओरालोतर्फ लागेर अन्ततः दोहोरो अंकले घटेर बजार बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा परिसूचकमा गिरावट आएपछि कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबार १६ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा बुधबार १६ अर्ब ९९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनमा ४ करोड रुपैयाँले बढी हो ।

बुधबारको बजारमा २२१ कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ८७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ४७९ रुपैयाँमा भएको छ ।

बजारमा दुई बीमा कम्पनी सहित ८ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १००६ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको सेयर मूल्य ९.६१ प्रतिशतले बढेर प्रतिकित्ता १०३८ रुपैयाँ पुगेको छ ।

बुधबार बढी कमाएका र गुमाएका १० कम्पनी

यूनाईटेड मोदी हाइड्रोपावर, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर कम्पनी र पोखरा फाइनान्सको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको हो ।

बुधबार सबैभन्दा बढी यूनाईटेड ईदी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ९.८८ प्रतिशतले घटेर प्रतिकित्ता ५२० रुपैयाँमा झरेको छ ।

नेपाल धितोपत्र बोर्डले मंगलबार एक विज्ञप्ति जारी गरेसँगै त्यसको प्रभाव बुधबारको बजारमा परेको हो । बोर्डले विज्ञप्तिमार्फत बजारमा सेयर कर्नरिङ्ग तथा सर्कुलर ट्रेडिङ्ग भएको गुनासो आएकोले लगानीकर्तालाई थप सजग हुन आग्रह गरेको थियो । साथै, सेयर कर्नरिङ्ग तथा सर्कुलर ट्रेडिङ्ग भएको हो वा होइन भन्ने सम्बन्धमा बोर्डले थप अध्ययन शुरु गरेको जानकारी गराएको थियो ।

थप समाचार

सेयर बजारमा कर्नरिङ्ग/सर्कुलर ट्रेडिङ्ग भएको संकेत पाएपछि बोर्डले भन्यो- लगानीकर्ता थप चनाखो हुनु