सेग्वेले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ४ नयाँ मोडेल सार्वजनिक गर्ने

काठमाडौं । आइहब प्रालि, सेग्वे–नाइनबोटको नेपालका अधिकृत वितरकले आगामी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सेग्वेका चार नयाँ मोडेल सार्वजनिक गर्ने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा साउन २१ देखि २५ गतेसम्म (अगस्ट ६ देखि १०) आयोजना हुने यो पाँच दिने एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहनेछ, जसमा सेग्वेका नयाँ मोडेल प्रमुख आकर्षण हुने अपेक्षा कम्पनीले गरेको छ ।

कम्पनीका अनुसार यस पटक नेपाली बजारका लागि ल्याउन लागिएका मोडेलहरूमा दुई ई–स्कूटर (ई १५० एमके २’ र ‘ई १२५ एमके २’), एक ई–बाइक (‘जाइबर’) र एक ई–साइकल (‘जाफारी’)) समावेश छन् । 
यी मोडेलहरू सहरी दैनिक प्रयोगदेखि जीवनशैली र वातावरणमैत्री यात्रासम्मका विभिन्न आवश्यकतामा उपयुक्त हुने गरी डिजाइन गरिएको छ ।

‘सेग्वे ई १५० एमके २’ मा ७ हजार ५०० वाट मोटर र दुईवटा १ हजार ९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ९० किमी/घण्टा गति लिइ७५ देखि १२० किमीसम्म यात्रा गर्न सक्ने कम्पनीले दावी गरेको छ ।

‘सेग्वे ई १२५ एमके २’ मा ३६०० वाट मोटर र १९४४ वाट–घण्टा ब्याट्री रहेको छ, जसले ७० कि.मी.÷घण्टा सम्मको गति लिन सक्छ र ६० देखि १०० किमीसम्मको दायरा दिनेछ।

‘सेग्वे जाइबर ई–बाइक’ मा ३ हजार वाट हब मोटर र १ हजार ४४० वाट–घण्टा लिथियम ब्याट्री रहेको छ । यसले अधिकतम ३२ किमी/घण्टा गति लिई ७७ किमीसम्म चल्न सक्ने कम्पनीको दावी छ ।

‘सेग्वे जाफारी ई–साइकल’ मा ७५० वाट मोटर, ९३६ वाट–घण्टा ब्याट्री रहेको छ, जसले अधिकतम ३२ किमी÷घण्टा गति लिन सक्छ र ५८ किमीसम्म चल्न सक्छ । साथै यसमा रहेको २५ केजी रियर क्यारियर क्षमता दैनिक प्रयोगकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

यी चार मोडेलको लन्चसँगै नेपालमा सेग्वेको विद्युतीय सवारीसाधनको उपस्थिति अझ मजबुत हुने अपेक्षा कम्पनीको छ । 

सेग्वे व्यक्तिगत यातायात साधन प्रदान गर्ने विश्वस्तरको कम्पनी हो । करिब दुई दशकभन्दा बढी अनुभवसहित सेग्वेले हाल ८० भन्दा बढी मुलुकहरूमा आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ ।  

Share News