काठमाडौं । अमेरिकी राइड-हेलिङ कम्पनी लिफ्टले सोमबार चीनको बाइडुसँग साझेदारी गर्दै अर्को वर्षदेखि युरोपभर रोबोट्याक्सी सञ्चालन गर्ने जानकारी दिएको छ । यो साझेदारीमार्फत चिनियाँ सर्च इञ्जिन कम्पनी बाइडु पहिलोपटक युरोपको स्वचालित ट्याक्सी बजारमा प्रवेश गर्नेछ ।
सुरुआतमा यो सेवा जर्मनी र बेलायतमा सुरु गरिनेछ, जहाँ बाइडुको विद्युतीय आरटी सिक्स रोबोट्याक्सीहरू लिफ्टको प्लेटफर्ममा सञ्चालन हुनेछन् । यद्यपि नियामक स्वीकृति पर्खिरहेकै अवस्थामा छन् ।
यो योजनाअनुसार आउँदा वर्षहरूमा हजारौं सवारीसाधन युरोपभर विस्तार गरिनेछ । लिफ्टले हालै युरोपेली मोबिलिटी एप ‘फ्रीनाओ’ लाई २० करोड डलरमा खरिद गरेको छ, जसको प्रक्रिया बिहीबार मात्र पूरा भएको थियो ।
यो सम्झौताले लिफ्टलाई ९ देश र १८० भन्दा बढी सहरमा सेवा विस्तार गर्ने अवसर दिएको छ, जुन उत्तर अमेरिकाबाहिर लिफ्टको पहिलो ठूलो विस्तार हुनेछ ।
साझेदारीअन्तर्गत लिफ्टले प्लेटफर्म सञ्चालन, ग्राहक सेवा र सवारी व्यवस्थापन गर्नेछ भने बाइडुले आत्मचालित सवारीसाधन र प्राविधिक ज्ञान उपलब्ध गराउनेछ ।
‘हामीलाई ‘फ्रीनाओ’ सँगको सहकार्यमा उत्साहित बनाउने कुरा यो हो कि तिनीहरूसँग नियामकहरूसँग बलियो सम्बन्ध छ र हामी पनि त्यस्ता संवाद गर्न चाहन्छौं,’ लिफ्टका कार्यकारी उपाध्यक्ष जेरेमी बर्डले रोयटर्ससँग भने ।
बेलायत सरकारले रोबोट्याक्सी सेवा २०२६ को स्प्रिङसम्म भुक्तानीसहितका यात्रुहरूसँग सुरू गर्ने योजना अघि सारेको छ ।
उबर र वेभी जस्ता कम्पनीहरू पनि नियामक स्वीकृति पाएपछि सेवा सुरू गर्न तयार छन् ।
यो सहकार्य त्यस्तो बेला भएको हो जब लिफ्टको प्रतिस्पर्धी उबरले विश्वव्यापी रोबोट्याक्सी विस्तार गरिरहेको छ( जसमा वेमो, पोनी एआई, वीराइड र मोमेन्टासँग सहकार्य गर्दै युरोपमा पनि २०२६ मा सेवा सुरू गर्ने योजना छ ।
बाइडुको अपोलो गो सेवा हाल विश्वभरका १५ सहरमा १ हजारभन्दा बढी गाडीमार्फत सञ्चालनमा छ र ११ लाखभन्दा बढी राइड सम्पन्न गरिसकेको छ, तर लिफ्टसँगको यो सहकार्यमार्फत बाइडुले युरोपमा पहिलोपटक व्यावसायिक सेवा सुरू गर्न लागेको हो ।
मस्कलाई टेस्लाको २९ अर्ब डलरको सेयर बोनस, नेतृत्व जोगाउन बोर्डको नयाँ चाल
भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने, २ अर्ब डलरको लगानी योजना