काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ । बैंकिङ कसुर र राजावादी आन्दोलनको प्रर्दशनका मुखय आरोपित प्रसाईंसँग २८ लाख रुपैयाँ लिएर धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
गत चैत १५ गते राजावादी आन्दोलन भन्दै तिनकुनेमा हिंसात्मक प्रर्दशन भएको थियो । सो प्रर्दशनका मुख्य आरोपी भन्दै उनीसँग दुई वटा मुद्दा लागेको थियाे ।
उच्च अदालतले बैंकिङ कसुरको हकमा २५ लाख धरौटी वा बैंक जमानत दिए तारिखमा छाड्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले सो आदेश दिएको हो ।
यस्तै, राज्यविरुद्धको कसुरमा उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिइएको हाे । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले सो कसुरमा उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उनी २८ लाख रुपैयाँ धरौटी बुझाएर घर फर्किसकेका छन् । विवादित व्यवसायीको रुपमा परिचित प्रसाईंले व्यवसाय गर्दा लिएको ५ अर्ब बढी कर्जा तिर्न सकेका छैनन् । उनले विभिन्न बैंकबाट लिएको कर्जा नियमित नरहेको बैंकहरुले बताएका छन् ।
बैंकको सावाँ ब्याज नियमित तिर्न नसकेका उनलाई फेरि धरौटीले थप आर्थिक बोझ दिएको छ ।
उनले राजा फर्काउने भन्दै प्रर्दशन गर्दै आएका थिए । गत चैत १५ गते तीनकुनेमा हिंसात्मक प्रर्दशन गरेर दुई जनाको निधन भएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए । प्रदर्शनकारीले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरेका थिए । केही समय फरार भएका उनलाई पछि प्रहरीले भारतबाट पक्राउ गरेको थियो ।
सोमबार प्रसाईंले सामाजिक सञ्जालमा स्टाटस लेख्दै देश निर्माणको भावी योजनाका साथ लाग्ने बताएका छन् । रिहाइ हुँदा उनको स्वागतका लागि कारागार पुगेका उनका समर्थकहरुले भने अब फेरि आन्दोलन चर्किने प्रतिक्रिया दिएका छन् । तर, प्रसाईको अबकाे रणनीति के हुन्छ भन्ने कुरा भने हेर्न बाँकी छ ।