काठमाडौं । टेस्लाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई करिब २९ अर्ब अमेरिकी डलर बराबरको ९६ मिलियन नयाँ सेयर प्रदान गर्ने निर्णय गरेको छ । मस्कलाई टेस्लामा राखिराख्न र सेयरधनीहरूप्रति अन्यायपूर्ण ठहरिएको अघिल्लो पारिश्रमिक योजनालाई अदालतले खारेज गरेपछि यो कदम चालिएको हो ।
सन् २०२४ मा डेलावेयरको अदालतले मस्कको २०१८ को ५० अर्ब डलरभन्दा बढी मूल्यको पारिश्रमिक योजना खारेज गरेको थियो । अदालतले टेस्ला बोर्डको स्वीकृति प्रक्रिया त्रुटिपूर्ण र सेयरधनीहरूप्रति अन्यायपूर्ण रहेको ठहर गरेको थियो ।
मार्च महिनामा मस्कले उक्त निर्णयविरुद्ध अपील दायर गरेका थिए । उनले तल्लो अदालतका न्यायाधीशले कानुनी त्रुटिहरू गरेको दाबी गर्दै रेकर्ड पारिश्रमिक खारेज गर्न नहुने तर्क गरेका थिए । यसै वर्ष टेस्लाले मस्कसँग सम्बन्धित केही पारिश्रमिक विषयहरू मूल्याङ्कन गर्न विशेष समिति गठन गरिएको जानकारी दिएको थियो, तर विस्तृत विवरण खुलाइएको थिएन ।
टेस्ला अहिले निर्णायक मोडमा पुगेको छ । मस्कसँग कम्पनीको १३ प्रतिशत सेयर स्वामित्व रहेको छ । तर अब उनी सस्तो विद्युतीय गाडीको प्लेटफर्मबाट ध्यान हटाउँदै रोबोट्याक्सी र ह्युमनाइड रोबोटतर्फ केन्द्रित हुँदैछन्, जसले टेस्लालाई अब एक अटोमोबाइल कम्पनीभन्दा बढी एआई र रोबोटिक्स कम्पनीको रूपमा स्थापित गर्दैछ।
विशेष समितिका अनुसार नयाँ सेयर पुरस्कारले क्रमशः मस्कको भोटिङ अधिकार बढाउने लक्ष्य लिएको छ । मस्क र सेयरधनीहरूले लगातार मस्कलाई टेस्लामा केन्द्रित राख्न भोटिङ शक्ति आवश्यक रहेको भन्दै आएका थिए ।
‘हामीलाई थाहा छ कि एलनको व्यावसायिक चासो, रुचि र समयप्रतिको माग अत्यधिक र विविध छन् तर हामी विश्वस्त छौं कि यस पुरस्कारले एलनलाई टेस्लामा टिकाइराख्न उत्प्रेरित गर्नेछ,’ समितिले सोमबारको नियामक दस्तावेजमा उल्लेख गरेको छ ।
यदि डेलावेयरको अदालतले २०१८ को सीईओ पर्फमेन्स अवार्ड पूर्ण रूपमा पुनःस्थापित गर्यो भने यो नयाँ अस्थायी पुरस्कार स्वतः खारेज हुने वा समायोजन गरिनेछ, जसले ‘दोहोरो लाभ’ नहुने सुनिश्चित गर्नेछ ।
यो अस्थायी पुरस्कार प्राप्त गर्न मस्कले सन् २०२७ सम्म कुनै कार्यकारी भूमिकामा निरन्तर रहनु पर्नेछ । यी सेयरहरू पाँच वर्षसम्म बिक्री गर्न पाइनेछैन ।
मस्कले प्रत्येक सेयरको लागि टेस्लालाई २३.३४ डलर तिर्नुपर्नेछ, जुन २०१८ को सीईओ पुरस्कार अन्तर्गतको सेयर मूल्य बराबर हो । उक्त विषय टेस्लाले सोमबारको फाइलिङमा उल्लेख गरेको छ ।
प्रिमार्केट ट्रेडिङमा टेस्लाको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।
बिक्री घट्दो क्रममा
यो वर्ष टेस्लाको सेयर मूल्य करिब २५ प्रतिशतले घटिसकेको छ । पुरानो गाडी मोडेल, तीव्र प्रतिस्पर्धा र मस्कका राजनीतिक अभिव्यक्तिहरूका कारण सम्भावित ग्राहकहरू टाढा भएको देखिएको छ ।
यस समस्यालाई अमेरिकी सरकारले विद्युतीय गाडीका लागि दिँदै आएको अनुदान कटौतीले झनै गम्भीर बनाएको छ । मस्कले अघिल्लो महिना आम्दानी विवरण पेश गर्दा अनुदानको कमीका कारण कम्पनीका लागि केही चुनौतीपूर्ण त्रैमासहरू आउन सक्ने बताएका थिए, जबसम्म सेल्फ ड्राइभिङ सफ्टवेयर र सेवाबाट आम्दानी आउन सुरु हुँदैन ।
गाडी उद्योगसम्बन्धी अनुसन्धान संस्था एसएन्डपी ग्लोबल मोबिलिटीका अनुसार मस्कले सन् २०२४ को गर्मीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेपछि टेस्लाप्रतिको ब्रान्ड निष्ठा उल्लेखनीय रूपमा घटेको देखिएको छ ।
टेस्लाका पुराना मोडेलहरूले अहिले जनरल मोटर्स, हुन्डाई, बीएमडब्ल्यू जस्ता परम्परागत कम्पनीहरूबाट निर्माण भएका नयाँ विद्युतीय गाडीहरूबाट कडा प्रतिस्पर्धा खेपिरहेका छन् ।