एथरको नयाँ फ्यामिली स्कुटर ‘रिस्ता’ सार्वजनिक, एकपटक चार्ज गर्दा १२५ किमि गुड्ने

काठमाडौं । भारतको अग्रणी इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी एथर एनर्जीले आफ्नो नयाँ फ्यामिली स्कुटर ‘एथर रिस्ता’  नेपाली बजारमा सार्वजनिक गरेको छ । 

कम्पनीले काठमाडौंमा एक विशेष कार्यक्रमका बीच यो स्कुटरको प्रि-लन्च गरेको हो । यसको आधिकारिक बिक्री तथा मूल्य घोषणा भने आगामी नाइमा अटो मोबिलिटीमा गरिने कम्पनीले जनाएको छ ।

नेपालका लागि एथरको आधिकारिक वितरक वैद्य इनर्जीले ल्याएको ‘रिस्ता’ विशेषगरी पारिवारिक प्रयोजनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यो स्कुटरमा फराकिलो र लामो सिट, आकर्षक डिजाइन र अत्याधुनिक फिचरहरू समावेश छन्।


नेपालमा सार्वजनिक गरिएको एथर रिस्ता ३।७ किलोवाट आवर ब्याट्री क्षमताको ‘जेड’ भेरियन्ट हो । कम्पनीका ओभरअल बिजनेस हेड प्रदिप अधिकारीका अनुसार यो स्कुटरले एक पटकको फुल चार्जमा १२५ किलोमिटरको रेन्ज दिन्छ । 

यो रेन्ज अनरोडमा दुई जना सवार हुँदाको वास्तविक रेन्ज भएको उनले दाबी गरे । यसको कम्पनी सर्टिफाइड रेन्ज भने १५९ किलोमिटर रहेको छ । रिस्ताको टप स्पिड प्रतिघण्टा ८० किलोमिटर रहेको छ ।

एथर रिस्तामा अन्य एथर स्कुटरहरूमा जस्तै अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसमा स्मार्ट न्याभिगेसन, पार्क असिस्ट, इमरजेन्सी स्टप सिग्नल र फल सेफ जस्ता सेफ्टी फिचरहरू छन् ।

यसको सबैभन्दा प्रमुख विशेषता भनेको ‘ट्र्याक्सन कन्ट्रोल’ हो । यो फिचरका कारण स्कुटरलाई अफ-रोड, चिप्लो बाटो वा पानी परेको अवस्थामा पनि सुरक्षित रूपमा चलाउन सकिन्छ । मोड परिवर्तन गरेर यसलाई जुनसुकै सडक अवस्थामा पनि सहजै गुडाउन मिल्ने अधिकारीले जानकारी दिए ।

कम्पनीले रिस्ताको ब्याट्रीमा ५ वर्ष वा ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । साथै मोटर र अन्य पार्टपुर्जामा ३ वर्ष वा ३० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ ।

ग्राहकलाई थप विश्वास दिलाउन कम्पनीले ब्याट्रीको वारेन्टीलाई ८ वर्ष वा ८० हजार किलोमिटरसम्म बढाउन मिल्ने सुविधा पनि दिएको छ ।

कम्पनीले नाइमा एक्स्पोमा आकर्षक अफरहरूसहित ‘रिस्ता’ को मूल्य घोषणा गर्ने र बिक्री सुरु गर्ने तयारी गरेको छ ।

Share News