सीईओहरु जागिर खान मात्रै केन्द्रित भएपछि बैंकिङ क्षेत्र जोखिममा : अनलराज भट्टराई

  २०७४ माघ १ गते १३:२०     विकासन्युज

अनलराज भट्टराई, स्थानिय साझेदार नेपाल रेटिङ एजेन्सी

सीए अध्ययन पुरा गरेपछि अनलराज भट्टराईले सन् १९९६ मा नेपाल बैंकमा वरिष्ठ प्रवन्धकका रुपमा बैंकिङ जागिर सुरु गरे । उनले त्यहाँ ६ वर्ष काम गरे । नेपाल बैंकको व्यवस्थापन विदेशीले लिएपछि जागिर छाडेर तत्कालिन सानिमा विकास बैंक (हालको सानिमा बैंक) को संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका थिए । सानिमामा २ वर्ष काम गरेपछि क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा संस्थापक महाप्रवन्धकको रुपमा १६ महिना काम गरेका थिए । क्लिन इनर्जीबाट राजीनामा गरेपछि उनले वाणिज्य बैंक स्थापना गर्न लागे । करिव ३ वर्षको अथक मेहनतपछि उनका पहलमा नेपाल कमर्ज एन्ड ट्रष्ट बैंकको स्थापना भयो । सो बैंकमा उनी संस्थापक सीईओको रुपमा थिए । कमर्ज ग्लोबल आईएमईमा गाभिएपछि उनले सीईओ छाडे । त्यसपछि नेपालमा रेटिङ र वैकिङ परामर्श सेवा दिने संस्था स्थापनाको पहल थाले । ३ वर्षको अथक प्रयासपछि नेपाल रेटिङ एजेन्सीले धितोपत्र बोर्डबाट हालै आशयपत्र पाएको छ । उनले दुवइबाट साझेदार भित्राएर अन्तराष्ट्रिय स्तरको रेटिङका साथै वैंक तथा वित्तीय संस्थालाई परामर्श सेवा दिने योजना लिएका छन् । नेपालमा रेटिङ व्यवसाय र बैंकिङ क्षेत्रमा देखिएको लगानी संकटको विषयमा केन्द्रीत भएर भट्टराईसंग विकास न्युजका लागि बाबुराम खड्काले गरेको कुराकानीको सारसंक्षेप:
 
यहाँ कमर्ज एन्ड ट्रष्ट छाडेपछि बैंकको सीईओ हुनुभएन, अवसर नपाएर होकी नचाहेर हो ?

सन् २०१४ मा कमर्जलाई ग्लोबलसंग मर्ज गरेपछि मैले बैंक छाडे । कमर्जलाई ग्लोबलसंग मर्ज गराउनु मेरा लागि ठुलो सफलता थियो । ग्लोवलसंग मर्ज भएपछि मैले सीईओ बन्न चाहिन । बैंक छाडेपछि मलाई विभिन्न बैंकबाट सीईओ र सञ्चालक बन्न धेरै प्रस्ताव आएका थिए । अहिले पनि मलाई सीईओ बन्न आउनुस भनेर प्रस्ताव आएको छ । खाली नबस्नुस भनेर सुझाव आएको छ । म खाली छैन, केही गरिररहेको छु । यस क्षेत्रमा बसेर केही गर्छु भन्ने मलाई नयाँ सोच आयो । दुई दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभवका आधारमा मैले बैंकिङ क्षेत्रमा केही ग्याप देखेको छु । यसलाई सुधारको आवश्यकता भन्ने महशुस ममा थियो ।

वित्तीय क्षेत्रमा पारदर्शी, सुशासन र कमिकमजोरीलाई उज्जागर गरेर अन्तराष्ट्रियस्तरको परामर्श सेवा दिने मेरो लक्ष्य हो । नेपालको वित्तीय क्षेत्रलाई अन्तरष्ट्रिय स्तरको बनाउन कुनै उपकरण नेपालमा चाहिने सोच राखेर रेटिङ एजेन्सीको स्थापना गर्न लागेको हो । २०१४ को जुनदेखि यसका लागि प्रक्रिया सुरु गरेको हो । नेपालमा नयाँ काम गर्छु भनेर प्रस्ताव लैजादा सरकारी तवरबाट समयमा निर्णय नहुदा लामो समय लागेको छ । ठुलो संस्था ल्याउन खोज्दा धेरै सोधपुछ हुने गरेको छ । यो नाफा कमाउन आउन लाग्यो भन्ने कतिपयको सोच समेत रहेको छ । हामी सकरात्मक भन्दा पनि नकरात्मक बढी सोच्छौ, त्यसैले मलाई रेटिङ एजेन्सी स्थापनाको कुरा बुझाउन साढे २ वर्ष लाग्यो । कहिले अर्थ मन्त्रालय, कहिले धितोपत्र बोर्डलगायत राजनीतिक नेतृत्वसंग पटकपटक भेटनु परेको थियो । सरकारी निकायलाई यो नभइ हुदैन भन्ने रियलाइजेसन भएको थियो तर काम भने अघि नबढ्दा दिक्क लागेर आउथ्यो ।

सरकारी अधिकारीहरु ल्याउनुस हामी गर्छौ भन्थे तर प्रक्रिया धिमा गतिमा भएको हुन्थ्यो । यही कारणले गर्दा मैले विदेशी साझेदारलाई यहाँ निर्णय हुन्छ तर ढिलो हन्छ तिमिहरुले मलाई स्थानिय साझेदारको रुपमा सहयोग गर म अघि बढ्छु भनेको थिए । अर्थ मन्त्रालय र बोर्ड सकरात्मक भए, एलओआई पाएका छौ । केही समयभित्रै कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढ्नेछ । नाम नेपाल रेटिङ एजेन्सी रहने छ । वित्तीय क्षेत्रमा अहिले भइरहेको जुन ग्याप पुरा गर्न र वासेल ३ लागु गर्नका लागि आवश्यक पुर्वाधार र उपकरण प्रयोग गर्न हामी अघि बढेका छौ । नेपालमा काम गर्न वातावरण छैन भन्ने सन्देश बाहिर गएको छ, त्यसलाई सुधार्न पनि हामी लाग्ने छौं । जहाँ खराब छ, प्रणाली कमजोर छ भने त्यहाँ सुधार गर्न जाने हो । त्यसैले नेपालमा पनि वित्तीय प्रणालाीको सुधार गरेर माथि उठाउने हाम्रो लक्ष्य हो । प्रणाली कमजोर भएको ठाउँमा गएर सुधार्ने र नयाँ प्रणाली बसाल्ने हाम्रो मुख्य लक्ष्य हो ।

कम्पनीमा लगानीको संरचना कस्तो हुनेछ ?

बहुमत लगानी विदेशी साझेदारको हुनेछ । विदेशीको ६० प्रतिशत, बाँकी मेरो र वाणिज्य बैंकको हुने गरी लगानी संरचना तयार पारिएको छ । मैले २८ वटै वाणिज्य बैंकलाई समेट्ने प्रयास गरिरहेको छु । सबैसंग कुरा भएको छ । सबै नआउलान तर १५ वटा बैंकले मौखिक प्रतिवद्धता जनाइसकेका छन् ।

नेपाली लगानीबाट मात्रै यहाँ रेटिङ एजेन्सी सञ्चालन गर्न सकिन्न र ? किन चाहियो विदेशी ?

हामी पहिला विदेशी प्रविधि र ज्ञानलाई ल्याएर एउटा प्रणाली बसाल्ने र विस्तारै प्रविधि हस्तान्तरण गर्ने योजनामा छौ । प्रविधि हस्तान्तरण भएपछि सहज हुन्छ । जस्तै नेपाल बैंक खुल्दा सुरुमा भारतबाट मान्छे ल्याइएका थिए । विस्तारै विदेशी लगानीमा बैंक आए उनीहरुले पनि प्रविधिमा धेरै विकास गरे । अब नेपाली निजी बैंक पनि आरमसंग खुल्ने र सञ्चालन हुने अवस्थामा पुगेका छन् । सुरुको अवस्थामा हामी सक्षम छैनौ । हामीले यो काम गर्दैछौ भन्ने कुरा बुझाउन त २ वर्ष बढी समय लाग्यो भने काम गर्न त्यति सहज छैन् । त्यसैले विदेशी प्रविधि ल्याउन लागिएको हो । संसारमा प्रमाणित भएको प्रविधि हामी नेपालमा ल्याउदै छौ । रेटिङलाइ अन्तराष्ट्रिस्तरमा मान्य हुने बनाउने छौ । तपाइले गरेको कामलाई अन्तराष्ट्रिय बजारले पनि स्वीकार गरोस र नेपालको बजार पनि अन्तराष्ट्रिय स्तरको होस भन्ने हाम्रो चाहाना हो । हामीले नेपालका वित्तीय क्षेत्रलाई बढी पारदर्शी बनाउन काम थाल्ने छौ ।

यस्तै काम गर्ने २ वटा रेटिङ एजेन्सी सञ्चालनमा आइसके, तपाईले पनि ल्याउदै हुनुहुन्छ । नेपालमा यो संख्या बढी भएन र ?

नेपाल रेटिङ अघिल्ला दुई कम्पनीसंग प्रतिस्पर्धा गर्नलाई आउन लागेको हैन् र मेरो प्रतिस्पर्धा गर्ने चाहना पनि पटक्कै छैन् । हामी रेटिङमा मात्र म केन्द्रीत हुदैनौ । पहिला नेपाली जनतालाई रेटिङ केहो भन्न कुरा बुझाउनु छ । यहाँ व्यक्तिको रेटिङ हुन्छ भन्ने गलत कुरा आएको छ । व्यक्तिको रेटिङ नभएर उसको क्रेडिट स्कोर मात्र हुन्छ । यहाँ व्यक्तिको पनि रेटिङ हुदैछ भन्नेर हल्ला चलाइएको छ । वित्तीय अवस्था, भुक्तानीको संरचनाका आधारमा व्यक्तिको क्रेडिट स्कोर हुन्छ । बाहिर व्यक्तिको स्कोर २ सयदेखि ८ सय सम्म हुन्छ । जति स्कोर धेर भयो त्यो राम्रो हुन्छ कम भयो भने ब्याजदरमा असर गर्छ । त्यसैले बजार बनाउन, जनतालाई यसका बारेमा सिकाउन बाँकी छ । नेपालमा यसको बजार ठुलो छ । यो बजारमा अर्को ३ वटा रेटिङ एजेन्सीलाई धान्न सक्छ । अहिलेको बजार हेर्दा ३ वटा कम्पनी धेरै हुन्छ । तर हामी त्यसमा मात्र बस्ने छैनौ । कुन क्षेत्रमा सहयोग गर्न सकिन्छ हामी हेर्ने छौ । नेपालमा अहिले भइरहेको विभिन्न किसिमको कमिकमजोरीलाई सुधार गरेर सरकारको राजश्व बढाउने, वित्तीय क्षेत्रमा भएको नचाहिने ब्याजदरको र सेयर बजारको उतारचढावको विश्लेषणको काम गर्ने छौ ।

ब्याजदर बढ्ने र घट्न सुचकाँक के हो ? नेपाल राष्ट्र बैंकले कहिले ५१ अर्ब अधिक तरलता छ भन्छ कहिले २० अर्ब अधिक तरलता छ भन्छ । अधिक तरलताको बेन्चमार्क के हो ? यस्तो घटनाको विश्लेषण गर्ने कोही छैन् । सरकारको अवस्थाको बारे जानकारी दिने अन्तराष्ट्रिय स्तरको संस्था पनि छैन् । त्यसैले केही नयाँ कुरा दिन म लागि परिरहेको छु । जागिर खाने भए म वाणिज्य बैंकको सीईओ भइहाल्थे, आरमसंग १० लाख बढी तलव आउथ्यो । ३ वर्षसम्म मेहनत लगाएर गरेको काम हो । सरकार, राष्ट्र बैंक र पुँजीबजार र कर्पोरेट हाउसलगायत सडकमा बसेर पान व्यवसाय गर्नेलाई पनि हामी परामर्श सेवा दिने छौ । जसले जति तिर्न सक्छ त्यही आधारमा हामी परामर्श शुल्क लिन छौ । एउटा सानोभन्दा सानो व्यवसायलाई परामर्श सेवा दिने छौ । सानो भन्दा सानो व्यवसायलाई रेटिङ गर्ने छौ ।
जस्तो पाटनमा मुर्ति बनाउने मुर्तिकारले सिधै युरोपमा लगेर बिक्री गर्दा बढी जति पैसा पाउछ तर आज मध्यस्ततामार्फत गए कम पाएको छ । हामी त्यो मध्यस्थतताको काम हटाएर उसलाई सिधा सम्पर्क गराउने काम हामी गर्ने छौ । समग्रमा नेपालको निकासी बढ्न, सरकारको राजश्व वृद्धि र वित्तीय क्षेत्रमा पारदर्शी बनाउनलाई हामी केन्द्रीत हुने छौ । नेपालमा रेटिङ सम्बन्धित धेरै काम भएको छैन् । त्यसैले यहाँ ठुलो संभावना छ ।

नेपाल रेटिङ एजेन्सी कहिलेदेखि सञ्चालनमा आउनेछ ?

अझै ५ महिना लाग्न सक्छ । यो आर्थिक वर्षको अन्त्यसम्म सञ्चालनमा ल्याउने छौं । प्रक्रियागत हिसावले अझै ५ महिना लाग्छ ।

अब प्रसंग बदलौं, यहाँसंग दुई दशक लामो बैंकिङ अनुभव छ । अहिले लगानीयोग्य पुँजीको संकट दोहरिएको छ । के कारणले यस्तो हुन गएको हो ?

बैंकहरुले ओभर एक्सटेन्डेड भएर कर्जा लगानी गरे, सम्पत्ति र दाइत्वको मूल्याँकन नगरी कर्जा लगानी गरियो । निक्षेपको र कर्जा दुबैको लाइफ हेर्नुपर्नेमा त्यसो गरिएन । कर्जा दिदा कुन क्षेत्र जाने भन्ने बताइ दिने कोही भएन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले आफनै ढंगले काम गरे । यस्तो भएपछि समस्या आउनु स्वभाविक हो । यसअघि पनि आक्रमक रुपमा बजार विस्तार गर्दा केही बैंकमा समस्या आएको थियो । केही बैंक अझै आक्रम ढंगले गएका छन् । यसरी बैंक अघि बढ्नु हन्थ्यो कि हुदैन थियो ? बैंकिङ क्षेत्रमा नयाँनयाँ प्रविधि आए तर यसमा राष्ट्र बैंक पछि पर्दै गयो । यहाँ बजार विकास तिब्र गतिमा भएको छ तर नियामकले समस्या आएपछि यसमा गलत भयो भनेर बल्ल नियमनको काम थाल्ने गरेको छ । नियामक पनि परम्परागत ढंगले चलेको छ भने बैंक पनि त्यही सोचका साथ सञ्चालन भइरहेका छन् । यसले वृद्धिलाई व्यवस्थापन गर्न सकेन् ।

बैंकका सीईओ राम्रो काम गरेर देखाउने भन्दा पनि अर्को कार्यकाल कसरी थप्ने भन्नेमा लागेका छन् । बैंकले राम्रो नाफा गर्न सकेन भने बैंक सञ्चालक समितिले अर्को कार्यकालका लागि नविकरण नगर्ने भएपछि कसरी हुन्छ नाफा कमाउने भन्ने ध्यानमा सीईओ गएका छन् । केही समय हेर्ने नभए सीईओबाट हटाउने समेत सञ्चालकले भन्ने गरेका छन् । मैले सार्वजनिक रुपमा भनेको सुनेको छु, मैले फलानोलाई बैंकको सीईओ बनाएको छु, ६ महिना काम हेर्ने प्रगति भएन भने हटाइ दिने भन्ने समेत कुरा आएको छ । यस्तो अवस्थामा बैंक कसरी चल्छ ? बैंक सञ्चालनको तरिका यही हो ? बैंकले ६ महिनामा नाफा गर्न सक्दैन भन्ने कुरा सबैले बुझेका छन् । अर्कोकुरा सीईओले पनि अब आउदा ६ महिनामा तरलताको अवस्था कस्तो हुन्छ ? ब्याज दरको कसरी घटबढ हुन्छ ? निक्षेप संकलनको अवस्था र जोखिम कतिको बढ्छ ? भन्ने कुरा सोचेका छैन् । ४ महिनाअघि ८ प्रतिशत ब्याजमा निक्षेप लिन भन्दा सीईओले मानेन् ।

३ महिनापछि १३ प्रतिशत ब्याजमा महंगो निक्षेप उठाइरहेका छन् । यसबाट के देखियो भने हाम्रा सीईओसंग भविष्यमा यस्तो हुन सक्छ भन्ने साधारण ज्ञान समेत नभएको पाइयो । सीईओहरुको अध्ययन कम भयो, वित्तीय विश्लेषण भएन । हो हामी यहाँ आएर सहयोग गरिदिन्छौ । तपाईको यहाँ कमजोरी छन भनेर औल्याइ दिन्छौ र यसर अघि बढ्नुस भनेर सुझाव पनि दिन्छौ । अहिले बैंकिङ क्षेत्रमा भएको समस्या ओभर एक्सटेन्डेड कर्जा प्रवाह नै हो । पहिला निक्षेप जोह गरेर कर्जा दिनु पर्नेमा सीईओले कर्जा स्वीकृत गरेर निक्षेप खोज्न थाल्छन् । पहिला निक्षेप उठायो भने ब्याज तिर्नुपर्छ भन्ने सोच हाम्रा सीईओमा छ । पहिला कर्जा स्वीकृत गरौ अनी निक्षेपको व्यवस्था गरौला भन्ने बठाइ सीईओले गर्दै आएका छन् ।

पहिला सिद्धान्त अनुसार तरल अवस्थामा बस्छु भन्ने सोचमा सीईओ गएन । सन् २००८ मा वित्तीय संकट आएपछि वासेल ३ ले पहिलो प्राथमिकता तरलतालाई दिएको छ । बासेल ३ बैंकका सीईओले पढ्नु भएको होला, यदी पढ्नु भएको छैन भने त्यही बैंकको दुर्भाग्य हो । भएसम्म सर्ट टर्म बाट निक्षेप मिलाउदै जादा नै गलत भयो । यो गलतको भोग साधारण व्यक्तिले महंगोमा चामल किन्नु परेको छ । ढुवानी लागत बढेको छ । यो सबै चिज कसरी भयो भने बैंकका सीईओले भविष्य हेरेर काम गरेनने नाफालाई मात्र हेरे । त्यसरी जानु हुदैन थियो । ३ महिनाअघि सस्तोमा निक्षेप उठाएको भए आज यस्तो अवस्था आउने थिएन् ।

अर्कोकुरा नाफा दिन सकेन भने सीईओ किन राख्ने ? व्यापारमा सर्वमान्य सिदान्त नाफा नै हो । एक पटक रियलस्टेट बढेर संकटमा परेको थियो । त्यो सीईओको कारणले भएको हो । अहिले त्यसमा रियलाइज गरेर राष्ट्र बैंकले रियल स्टेट कर्जा सीमा तोक्यो । यसपछि उपभोक्ता फाइनान्सको ढोका खुल्यो । गाडीमा लगानी यति धेरै बढ्यो की अहिले घट्ने संभावना छैन् । यसबाट कसले बढी फाइदा पायो भन्दा धेरै निक्षेप भएका कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सेना नेपाल टेलिकम र प्रहरीको कल्याणकारी कोष, बीमा कम्पनीलगायतले धरै ब्याज पाए तर सर्वसाधारणले ज्यादै न्युन पाएको अवस्था छ ।

त्यसैले हामीले उत्पादनशिल क्षेत्रको नयाँ परिभाषा गरेर यसको दायरा ठुलो बनाउ भनेर सरकारलाई सुझाएका छौ । उत्पादन क्षेत्रमा २ वर्षभित्र ४० प्रतिशत कर्जा जानुपर्छ भनेर लक्ष्य दिऔ, त्यसपछि उपभोक्ता कर्जा निरुत्साही हुन्छ । हामी आयातमुखी भएकाले भुक्तानी सन्तुलनमा समस्या आएको छ । राजश्व पनि आयातमुखी छ । राजश्व कम भएपछि सरकारकाले कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था पनि आउछ । उत्पादनशिल क्षेत्रमा गएपछि उत्पादन बढ्छ । बैंकलाई गाडी फाइनान्स गर्दा आफनो १२ र जनताको ८८ रुपैयाँ दिए पुग्छ । दोस्रो गाडी किन्छ भने २४ रुपैयाँ आफनो पुँजी राख्न भनेपछि ब्याजदर बढ्छ अनावश्यक गाडीको माग हुदैन् । यसपछि मास ट्रान्सपोर्टेशन बढाउनु पर्यो । राजधानीमा सरकारी गाडी कुदाउनु पर्छ ।

पहिला घरलाई प्रोत्साहन दिने र दोस्रालाई निरुत्साही गर्नुपर्छ यो विश्वव्यापी मान्यता हो । सरकारको वचत रकम राष्ट्र बैंकले पुनरकर्जामार्फत लगानी गर्ने अथवा छोटो अवधिको निक्षेप दिने वा त्यो पनि गर्न गाह्रो छ भने राष्ट्रिय वाणिज्य बैंकले सरकारको पैसा पठाउने र अन्य बैंकको कर्जा वाणिज्य बैंकले किन्ने व्यवस्था हुनुपर्छ । कर्जा स्वाप भएपछि अहिले ब्याजदरमा हुने प्रतिस्पर्धा अन्त्य हुनेछ । वाणिज्य बैंकले सरकारलाई सो रकम फिर्ता गर्छ । अहिले पनि बैंकबीच यस्तो कारोबार भइरहेको छ । तरलता बढी भएको बैंकले केही समय कर्जा किनेपछि समस्या समधान हुन्छ भने सरकारलाई पनि राजश्व प्राप्त हुने छ । राष्ट्र बैंकमा वचत रहेको रकम परिचालन गरेर सरकारलाई केही रकम प्राप्त हुन्छ । बैंकबीच ब्याज र ट्रेजरीको पनि दर पनि नबढने हुन्छ । त्यसैले यस्तो सोच चाहियो अब ।

हामीले सरकारलाइ भनेको छौ । गत वर्ष राष्ट्र बैंकले सीसीडी रेसियो गणनामा केही राहत दिएको थियो । ६ वटा बैंकले सीसीडी रेसियो भन्दा बढी गएर कर्जा लगानी गरे । ती बैंकलाई कार्वाही गरेको भए फ्रजाइल अवस्थामा रहेको बैंकिङ क्षेत्रको अवस्था कस्तो हुन्थ्यो ? अझै ६० प्रतिशत जनतालाई बैंकिङ प्रणालीमा ल्याउनु बाँकी रहेको अवस्थामा फेरी नकरात्मक कुरा गरेर क्षेत्रलाई नै ध्वस्त पार्ने काम पनि गर्नु हुदैन् । पहिलो पटक हुदा केही भएन र दोस्रो पटक भएपछि अब फोस मर्जरमा जाने वातावरण बनाउनु पर्छ । नेपालको अर्थतन्त्रले २८ वटा बैंक धान्दैन् । अब घटाएर १० देखि १२ वटामा झार्नुपर्छ ।

पहिला हकप्रद सेयर निष्कासन गर्न दिएर बैंकको क्षमता परीक्षण भइसकेको छ । यदी हकप्रद सेयर निष्कासन गर्न नदिएको भए ८ अर्ब चुक्तापुँजी पुग्ने अवस्था थिएन् । अब दोस्रो चरणमा १० प्रतिशत मात्र हकप्रदमा जाने र बाँकी बोनस सेयर वा फोसमर्जरमा जाउ भन्नुपर्छ । यो पनि वासेल ३ लागु हुनुअगावै २ वर्षभित्रमा सक्नुपर्छ । अधिकतमा १२ र न्युनतम ८ वटामा झार्ने अवस्थामा गएपछि तरलता पनि व्यवस्थापन हुन्छ, ब्याजदर पनि नियन्त्रण हुन्छ । ठुला परियोजनामा लगानी गर्ने क्षमता बढ्छ । विदेशी बैंक पनि नेपालको बैंकको आकार ठुलो भएको देखेर कुरा गर्न मिल्छ भनेर आउन सक्ने अवस्था छ ।

यहाँले बैंकलाई फोर्समर्जर गर्नुपर्छ भन्नुभयो, अब बैंकको पुँजी कति हुनुपर्छ ?

अब डेढ वर्षको समय दिएर बैंकको पुँजी घटिमा १६ अर्ब रुपैयाँ हुनुपर्छ । पुँजी बढाउन बढीमा १० प्रतिशत हकप्रद दिने र बाँकी बोनस र मर्जरबाट गर्न सक्ने व्यवस्था गर्नुपर्छ ।

पछिल्लो समयमा बैंकका सीईओले धमाधम जागिर छाड्न थालेका छन्, यसको कारण के होला ?

हामीले २० औं वर्षदेखि परम्परागत बैंकिङ व्यवसाय गर्दै आएका छौ, यसमा इनोभेसन खोइ त ? इनोभेसन त कुनै सीईओले पनि ल्याएका छैनन् । अर्थतन्त्र बढ्दै गएको छ, प्रविधिको विकास द्रुत गतिमा हुदै गएको अवस्थामा बैंकलाई नयाँ ढंगबाट सञ्चालन गर्न सीईओहरुले के नयाँ योजना ल्याए ? निक्षेप लिने, कर्जा दिने र अन्य ४, ५ वटा बाहेक बैंकका सीईओले नयाँ के गरे ? निक्षेपलाई ४ वटा नाम लेखेर डेविट, क्रेडिट कार्ड निःशुल्क, सुनौलो योजना भन्यो सबै त्यही हो । इनोभेसन ल्याउन नसकेको हो नी, कमजोरी हो स्वीकार गर्नुपर्यो ।

बैंकका सञ्चालकलाई मात्र गाली गरेर हुदैन, सञ्चालक समितिले बैंक सञ्चालनका लागि सीईओबाट इनोभेसन खोज्यो । निक्षेप लिने र कर्जा लगानी गर्ने यो साधारण काम हो । सजिलो उपाय खोज्ने मात्र काम भयो । कुनै बैंकमा ४ वर्षलाई नियुक्ति पाएपछि त्यसपछि म छाड्छु भन्ने सोच हुनुपर्छ । मलाई बोर्डले मनाएर राख्ने अवस्था आउनु पर्छ, ताकी मैले बोर्डलाई मनाएर हैन भन्ने सोच सीईओहरुमा आउनु पर्यो । म ४ वर्षमा छाड्छु, र म यो अवधिमा बैंकलाई यस्तो अवस्थामा पुर्याउने छु की मैले छाड्छु भन्दा सञ्चालकले हात जोडेर फेरी बैंकमा बसिदेउ भन्नुपर्ने अवस्था आओस । ४ वर्ष जागिर खाइहाले अब अर्को कार्यकाल कसरी थप्ने भन्ने तिर मात्र लागेपछि समस्या आउछ ।

उसोभए अहिलका सीईओहरु असक्षम नै हुन् ?

सक्षम भएर उहाँहरु त्यहाँ पुग्नु भएको हो, असक्षम कसरी भन्ने ? जुन किसिमको विकास बैंकिङ क्षेत्रमा हुनुपथ्र्यो त्यो भएको छैन् । नयाँ सिर्जना आएन् । नेपाल बैंकले सुरुदेखि गरेको जुन बैंकिङ कारोबार हो अहिले त्यही छ । म्यानुअलबाट कम्प्युटराइज हुने बाहेक नयाँ सिर्जना भएको छैन् । वि.स १९९४ देखि हालसम्म परम्परागत बैंकिङ व्यवसाय गरिरहेका छौ । भारत, बंगलादेश र अन्य मुलुक हेर्नुस त, त्यहाँको बैंकिङ क्षेत्रमा कत्रो परिवर्तन भएको छ । तर हामीले त्यस्तो परिवर्तन ल्याउन सकेनौ । सीईओले काम गर्न नसकेको हो ।

कर्जाको माग बढ्नु देशको अर्थतन्त्रका लागि राम्रो हैन ?

कर्जाको माग बढ्नु भनेको देशको अर्थतन्त्र चलायमान हुनुहो । यहाँ मध्यमवर्गको उदय भएको छ । यसले पनि अर्थतन्त्रलाई गतिशिल बनाएको छ । पहिला म सानो हुदा हामी तल सडकमा गाडी गन्थ्यौ, दिनको १० वटा पनि गाडी ओहरदोहर भएको हुदैन थियो । अहिले बाटो काट्न सक्दैनौ । मध्यमवर्गको उदयले उपभोगमा खर्च बढ्यो । आजको दिनमा प्रत्येकको घरमा एउटा गाडी हुने बेला भयो । हामी मध्यमवर्गको उदयले उपभोग बढ्यो, त्यो वस्तु हामीले स्वदेशमा उत्पादन गर्न सकेनौ । मुलुकलाई आयातमुखी बनाएर औद्योगिकरणतर्फ जान सकेनौ । २०४८ पछि हाम्रो राजनीति भागवण्डा र लुछाचुडीमा लाग्यो । विकासतर्फ कोही लागेनन् । औद्योगिकरण गर्न सकेनौ, भएका विदेशीलाई पनि धपायौ र उपभोग बढाउन तर्फ लाग्यौ । पैसा कमाई भएपछि खर्च बढ्नु स्वभाविक हो ।

म नेपाल बैंकमा प्रथम श्रेणीमा जागिर खादा मेरो तलल ५ हजार ५ सय रुपैयाँ थियो । आज यो तलवमा काम गर्ने मान्छे पाइन्दैन् । अहिले मान्छेको आम्दानी बढेपछि कर्जाको माग बढ्नु स्वभाविक हो । तर सरकारले खर्च गर्न सकेन् । सरकारले ठुला पुर्वाधारमा लगानी गरेको भए, बजेटमा उल्लेख भएका सबै काम गरेको भए मुलुकमा कायपलट नै हुने थियो । सरकारले अहिले वितरणमुखी बजेट बनाएर भोट तान्ने मात्र बजेट बनाउने गरेका छन् । नेताहरुको सोच पनि म ५ वर्षका लागि जागिर भए अब अर्को ५ वर्ष कसरी जागिर खाने भन्ने बाहेक अन्य सोच नै भएन् । नेताको सोच पनि बैंकको सीईओ जस्तै भयो । विदेशमा मान्छे पठाएर प्राप्त रेमिट्यान्सले मध्यमवर्गको उदय भएको हो । अहिले गाउँमा खेत बाँझो छ । उत्पादन घट्यो र विलासिताको वस्तु खरिद गर्न थाल्यौ ।

राष्ट्र बैंकमा वचत रहेको सरकारको केही पैसा हामीलाई देउ भनेर बैंकले मागेका छन्, यो रकम दिन मिल्छकी मिल्दैन ?

राष्ट्र बैंकमा सरकारको ठुलो रकम वचत भएका कारण समस्या आएको हो । बैंकको ६ खर्ब राष्ट्र बैंकको नीतिका कारण रोकिएको छ भने सरकारको ३ अर्ब गरी करिव ३३ प्रतिशत अथात ९ खर्ब पैसा आइडिल अवस्थामा छ । बैंकिङ प्रणालीमा पैसा छ तर लगानीयोग्य पैसा भएन् । राष्ट्र बैंकले सीसीडी रेसियोलाई हटाएर लिक्वीडिटी रेसियोको कायम गर्नुपर्छ र १५ प्रतिप्रतिशत तरलता राखेपुग्ने व्यवस्था गरे बजारमा थप पैसा आउछ । अर्को सरकारको पैसा पनि एउटा पुनरकर्जा अर्को सहुलियत ब्याजदरको माध्यमबाट छोटो समय दिनु पर्छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकलाई पैसा दिएर छोटो अवधिको ऋण खरिद गर्न लागएर समस्याको समधान गर्न सकिन्छ भनेर हामीले सुझाव दिएका छौ । यसमा दुइटा विचारधारा छ, एउटा विचारधाराले के भन्छ भने बैंकहरुको नियत नै खराव छ यो रकम दियौ भने फेरी पाइन्छ भन्ने छ । एकपटक सीसीडी रेसियो परिवर्तन गरायौ यो पटक सरकारको पैसा लिन सफल भए, अर्को पटक थप लिन सकिन्छ भन्ने धारणा छ, यो पनि सत्य हो । अर्को विचारधाराले के भन्छ भने हामीले सुगमता दिएनौ भने वित्तीय क्षेत्रलाई बचाएनौ भने देशलाई समस्या पर्छ र यसलाई खुकुलो पार्नुपर्छ भन्ने छ । यी दुइटा धारको लडाइ चलेको छ ।

यहाँको सुझाव के छ ?

सीसीडी रेसियालाई हटाएर लिक्वीड रेसियो बनाएर १५ प्रतिशतमा ल्याउने, अर्को उत्पादनशिल क्षेत्रको परिभाषा परिवर्तन गरेर ४० प्रतिशत अनिवार्य लगानी गर्ने व्यवस्था र उपभोक्ता कर्जालाई निरुत्साही गर्न जोखिम भार राख्नुपर्छ । सधै सरकारले सहुलियत दिन सक्दैन् । लिक्वीडिटी रेसियो बढाए पनि बैकरहरु सुध्रिन्दैनन् त्यसैले फोर्समर्जरमा पठाउनुपर्छ । गत वर्ष राष्ट्र बैंकले एक पटकलाई भनेर उद्धार गरेको हो । फेरी पनि त्यही समस्या दोहरिन थालेपछि उनीहरुको व्यवहारमा सुधार हुदैन् । एउटै मात्र अचुक औषधी फोर्समर्जर नै हो ।

दुईसाता अघि बजारमा पैसा फालफाल हुन्छ,फरी समस्या देखिन्छ, यस्तो हुनुको कारण के हो ?

तरलता र कर्जा दिने क्षमता फरक कुरा हो । राष्ट्र बैंकले वैधानिक तरल सुविधा भनेर वचपत्र र विभिन्न ऋणपत्रमा जम्मा गर्नुपर्छ भनेको हुन्छ । अहिले त्यो पैसामा समस्या आएको हो । कुनै बेला नयाँ जारी भएको हुन्छ, कुनै बेलामा हुदैन् । कुनै बेला धेरै आउछ बजारमा पैसा पर्याप्त हुन्छ । तर त्यसले कर्जा दिन सक्ने क्षमता बढाएको हैन् । बैंक त जहिले पनि २० प्रतिशत तरल भएको हुन्छ । २० प्रतिशत बढी रकम कर्जायोग्य हो हैन भन्ने कुरा छ, यो ट्रेजरी बिल्स, वचतपत्र, र ऋणपत्र किन्न योग्य पैसा मात्र हो । गत वर्ष लगानी गर्न पुँजी नभएपछि ट्रेजरी बिल्सको ब्याजदर ८ प्रतिशत आउनुपथ्र्यो त्यसबेला पनि १ प्रतिशत भन्दा तल भयो । त्यसका लागि पर्याप्त तरलता थियो । यसपाली ट्रेजरी बिल्स ६ प्रतिशत पुगेको छ, त्यो पुग्नु भनेको सरकारको दाइत्व बढी हुनु हो ।

गत वर्षको जस्तो समस्या दोहरिएको छ । यसमा राष्ट्र बैंकको नीतिगत असफलता होकी बैंकको कमजोरी हो ?

राष्ट्र बैंकको नीतिले काम गरिरहेको छ । ८० प्रतिशत सीसीडी कायम गर भनेको छ । राष्ट्र बैंकले ८० लाइ गणना गर्न नदिएको भए कतिवटा बैंक समस्यामा पर्थे । त्यो रोकिएको हो । सीसीडी रेसियो यति हुन्छ भनेको धेरै वर्ष भयो । यो आउनुमा बैंकको कमजोरी देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.