अनलाईन ट्रेडिङ र एनआरएनलाई लगानीको व्यवस्था छिट्टै गर्नेछु : चन्द्रसिंह साउद

  २०७४ कार्तिक १२ गते १०:४२     विकासन्युज

गणितमा राम्रो दख्खल भएका चन्द्रसिंह साउदले बोर्डिङ स्कुलमा गणित अध्यापन गराउँथे । वि.स.२०५१ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बजार अधिकृतमा जागिरे भए । नेपाल इन्स्योरेन्समा ६ तहबाट प्रवेश गरेको साउद पछि सीईओसम्म भए । उनी अहिले पनि पार्ट टाइम कलेजमा अध्यापन गरिरहेका छन् । उनले सााझेदारीमा ब्रिलियन्ट कलेज पनि सञ्चालन गरिरहेका छन् । बीमा क्षेत्रमा लामो समय बिताएका साउदलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओ बनाएको छ । नेपालको पुँजीबजारको अवस्था र आगामी दिनमा गरिने सुधारका विषयमा केन्द्रीत रहेर साउदसंग बाबुराम खड्काले गरेको कुराकानीको अंश ।

२ दशक लामो समय बीमा क्षेत्रमा बिताएर अहिले पुँजी बजारमा आउनु भएको छ । नयाँ क्षेत्रमा काम गर्न कतिको सहज हुदोरहेछ ?
बैंक, फाइनान्स र बीमा भनेको पुँजीबजार कै तत्व हुन् । चाहे बैकबाट होस वा बीमाबाट नै होस, एउटै तत्व भएकाले काम गर्न सहजै महशु्स भएको छ । बीमामा हुदा बजार प्रवद्र्धनका लागि आफै हिड्नु पर्ने व्यवसायीक लक्ष्य पुरा गर्नुपर्ने हन्छ । तर यहाँ आफनो लक्ष्य पुरा गर्नु त छदै छ त्यो भन्दा पनि सबै क्षेत्रको काम गर्नुपर्ने हुन्छ । बैंक, वित्त, बीमालगायत अन्य उत्पादनमुलक क्षेत्रको गतिविधि पनि हेर्नुपर्छ । नेपाल स्टकमा सुचिकृत भएका दोस्रो बजारमा कारोबार हुने जति कम्पनीहरु छन् तीनको अनुगमन र दोस्रो बजारमा सबै काम गर्नुपर्छ ।

सेयरका अतिरित्त डिबेञ्चर, होटललगाय धेरै क्षेत्रहरु छन, तीनको सबै काम गर्नुपर्छ । कामको हिसावले खासै फरक छैन, किनभने सीईओले सबै काम गर्ने हैन । सीईओले टिमवर्कमा रहेर व्यवस्थापनको काम मात्र गर्ने हो । टीमसंग मिलेर काम गर्नुपर्ने हुन्छ । कामको अवस्था पनि उस्तै हो । नेप्से सरकारी निकाय भएकाले यहाँ सबै प्रक्रिया पुरा गर्न नियमसंग जाने बाहेक अन्य फरक मैले देखेको छैन् ।

नेप्सेमा कर्मचारीको टिम कस्तो पाउनु भएको छ ?

मैले यहाँ कार्यभार सम्हालेको २ साता जति भयो । कर्मचारीबीचमा अन्तरक्रिया हुदा सबै सकरात्मक लागेको छ । सबै अनुभवी र लामो समय काम गरेका कर्मचारी साथी हुनुहुन्छ । सहयोगी भावना पाएको छु र सकरात्मक रुपमा यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने छु । भिन्न परिवार, धर्म र संस्कृतिबाट आएकाले बिचार फरक हुनु स्वभाविक नै हो ।

केही गर्न भनेर व्यवसायिक योजना लिएर नेप्सेमा आउनु भएको छ, यहाँका नयाँ योजना के छन् ?

पुँजीबजार सम्वद्ध निकायको आकाँक्षा अनुसार नै म योजना अघि बढाउछु । मैले धेरैजसोसंग सुझाव पनि लिएको छु । अनलाइन ट्रेडिङको व्यवस्थाका लागि काम तिब्रताका साथ अघि बढाएको छु । दोस्रोमा हाम्रा गैरआवासिय नेपाली (एनआरएन) लाई नेपालको पुँजीबजारमा कसरी भित्राउने भन्ने विषयमा काम अघि बढाउदै छु । उहाँहरुको इच्छा आकाँक्षा के हो बुझने प्रयास गर्दैछु । हाम्रा नियम कानून के छ ? त्यसलाई हेरेर अघि बढ्ने योजना छ । एनआरएनको नयाँ टिमले भरखरै चुनाव जितेर आएको छ ।

उहाँहरुका पनि केही योजना र माग होलान त्यसलाई पनि सम्बोधन गर्नुपर्ने छ । उहाँहरुसंग बसेर अन्तरक्रिया गर्दैछु । यस्तै नेप्से आफैले बजारमा काम गर्दैन, स्टक ब्रोकरमार्फत कारोबार गर्छ, उहाँहरुसंग पनि छलफल गर्दैछु । तेस्रोमा पुँजी बजारको विकासका लागि साना तथा ठुला लगानीकर्ता हुनुहुन्छ, उहाँसंग पनि छलफ गर्नेछौ ।

यति मात्र नभएर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुँजीबजारका बारेमा जानकारी दिन मुख्य सहरमा जनतालाई जानकारी गराउने काम गर्दैछौ । पुँजीबजारमा नयाँ प्रडक्ट के छन् त्यसतर्फ पनि ध्यान दिने छौ । यसअन्र्तगत विकास बैंक र लघुवित्तको एउटै सूचक रहेको थियो, यसलाई छुट्याइसकेका छौ ।नेप्सेका ऐन नियम पुराना छन, यी ऐन नियमलाई परिमार्जन गर्ने काम हुदैछ । धितोपत्र बोर्डबाट स्वीकृति लिएर मार्जिन लेन्डिङको काम पनि अघि बढाउँदै छौ । मुलुक संघीय प्रणालीमा गइसकेको छ । स्थानिय तहको चु्नाव सम्पन्न भइसकेको छ भने प्रदेश र केन्द्रको चुनाव पनि हुने क्रममा छ ।

पुँजीबजारलाई सबै क्षेत्रमा फैलाउन शाखा विस्तार वा लगानीकर्तालाई आफनो ठाउँबाट लगानी गर्ने व्यवस्था मिलाउने योजना बनाएको छु । ४ वर्षको अवधिमा ७ वटै प्रदेशमा हाम्रो उपस्थिती रहन्छ । सातवटै प्रदेशका लगानीकर्ताले आफनो क्षेत्रबाट पुँजीबजारमा लगानी गर्न पाउने सेवा विस्तार गरिने छ ।

अनलाईन ट्रेडिङ कहिलेदेखि सुरु हुदैछ ?

यसका लागि काम भइरहेको छ । भेण्डर कम्पनीले सफ्टवेयर जोडर मात्र पुग्दैन । हाम्रो सिस्टर कम्पनी भनेका स्टक ब्रोकर हुन तीनिहरुको पनि विकास हुनपर्छ । लगानीकर्तालाई यस बारेमा जानकारी गराउनुपर्छ । कार्यन्वयनमा आउनुभन्दा अगावै जानकारी दिनुभन्दा पनि सम्बन्धित संस्था र व्यक्तिसंग छलफल गरेर अघि बढाउने छौ । पुरा भएपछि एकैपटक कार्यन्वयन गराउने छौ ।।

एनआरएनलाई पुँजीबजारमा प्रवेश गराउने धेरै अघिदेखि कुरा चलेपनि यसको काम भएको छैन । यहाँले पनि यस्तै कुरा गर्नुभयो, किन यसमा काम भएको छैन ?

त्यहि भएर उहाँहरुसंग छलफल गर्न लागेको हो । उहाँहरुको कुरा पनि सुनौ र त्यही अनुसार योजना बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एकपटक छलफल गरौ हेरौ के हुन्छ । उहाँहरुलाई पुँजीबजारमा भित्र्याउदा यसको आकार बढ्छ ।

पछिल्लो समयमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ बढ्दै गएको छ, यसलाई रोक्न यहाँले के गर्दे हुनुहुन्छ ?

कात्तिकभित्र नयाँ जनशक्ति आउदै छ । त्यसलाई बजारमा अनुगमनमा खटाउदै छौ । अहिले पनि नभएको हैन तर पर्याप्त नभएको मात्र हो । हाम्रो क्षेत्राधिकार भित्र रहेर इन्साइडर ट्रेडिङ कारोबारको अनुगमन गर्ने छौ ।

नियामक धितोपत्र बोर्ड र नेप्सेबीच बारम्बार टकराव भएको अवस्था छ । यहाँको कार्यकालमा बोर्ड र नेप्सेबीच समुधर सम्बन्ध स्थापना हुने संभावना कतिको छ ?

मेरो धारणा के हो भने धितोपत्र बोर्ड हाम्रो गार्जियन हो । नियामकसंग मनमुटाव गरेर काम गर्न सक्दैनौ । त्यसैले अबका दिन बोर्ड र नेप्सेबीच बाउछोरा जस्तो एकदम सौहार्द सम्बन्ध रहने छ ।

दोस्रो स्टक एक्सचेन्ज सञ्चालनको कुरा आएको छ, दोस्रो स्टक एक्सचेन्ज आवश्यक छ की छैन ?

नेप्सेको सीईओ आधारले यहाँले सोध्नु भएको होला । स्वीकृत दिने वा नदिने भन्ने निर्णय नियामक निकायको हो । पहिला २ सय बढी सुचिकृत कम्पनी थिए । अहिले मर्जर र एक्विजिसनका कारणले संख्या घटेको छ । कतिपय संस्था खारेजीमा पनि गएका छन् । कम्पनीको संख्या घटेको अवस्था छ ।

भोली पुँजीबजार बढ्यो, लगानीकर्ता बढे र बजारमा एनआरएन आए भने कारोबार बढ्यो र बोर्डले अर्को कम्पनी आवश्यक देख्यो भने आउन पनि सक्छ । हामीले चाहिदैन भनेर बोल्ने क्षेत्राधिकार बाहिरको कुरा हो । पुँजीबजारमा दोस्रो कारोबार गर्ने संस्था आएपछि हामी सचेत कहाँ हुनुपर्छ भने नेप्सेको सेवा साधान र स्रोतलाई प्रतिस्पर्धात्मक बनाउनुपर्छ । हामी त्यसतर्फ लाग्छौ । नेप्सेलाई अझ बढी प्रतिस्पर्धी संस्था बनाउने छौ । अन्य कम्पनी आएपनि फरक पर्दैन् ।

लामो समयदेखि एक दर्जन बढी कम्पनी कारोबार भएको छैन, यहाँले यस्ता कम्पनीलाई के गर्नुहुन्छ ?

यस विषयमा सोच्दैछौ । वर्षौसम्म वार्षिक साधारणसभा नगर्ने कम्पनीलाई हेर्दै छौ र कारोबार गराउने कोशिस गर्ने छौ । लगानीकर्ताले लगानी गरिरहने तर आफनो सेयर मूल्य कति हो भन्ने थाहा नपाउने अवस्था विद्यमान छ ।

यस्ता संस्थालाई के गर्ने भन्ने कुरा मेरो दिमागमा आएको छ । सम्बन्धित कम्पनीका प्रमुखलाई बोलाएर साधारणसभा गर्नलाई सुझाव दिने छु ।

सल्लाह गरेर यस विषयमा एउटा निर्णय लिइने छ । सुचिकृत नभएको र कारोबार रोक्का भएका केही कम्पनीको ओटीसीबाट कारोबार भइरहेको छ । यो पनि समस्या हैन् । सबैलाई सुचिकृत गराउने र लगानीकर्ताको लगानी सुरक्षित गराउने हाम्रो पहल हुने छ । त्यसतर्फ हामी जानेछौ ।
उसोभए आउँदो ४ वर्षमा नेप्सेमा धेरै फरक देख्न सक्छौ ?

विकास भन्ने कुरा एकैपटक हुने कुरा हैन् । विकास भनेको समयको माग हो र हुन्छ । आउदो ४ वर्षमा नेप्सेको संरचनामा व्यापक परिवर्तन भएको पाउनुहुन्छ ।

पुँजीबजारमा बैंक वित्त, बीमा बाहेक उत्पादनमुलक क्षेत्रको प्रवेश भएको देखिन्दैन । किन यस्तो भएको हो ?

धेरै उद्योगपतिसंग कुरा गर्दा विभिन्न समस्या देखाउने काम भएको छ । सरकारले उनीहरुलाई सुविधा पनि दिएको छ । उद्योगीसंग छलफल गर्छौ । बोर्डले १० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्नुपर्ने भनेको छ । समस्या के रहेछ र कसो गर्दा उहाँहरु पुँजीबजारमा आउनु हुन्छ । यस विषयमा म छलफल गर्ने छु ।

ठुलो रकम बुझाएर नेप्सेको सीईओ भएको भन्ने आरोप लागेको छ, कति बुझाएर सीईओ हुनुभएको हो ?

कसले के भन्यो मलाई थाहा छैन् । जसले जे भन्यो उसैलाई सोध्नुस । प्रजातान्त्रिक मुलकमा जसलाई जे मन लाग्छ त्यो कुरा बोल्न पाइन्छ । यहाँको मिडियाका साथीले बुझेर लेख्दा राम्रो हुन्थ्यो । मैले कसैलाई पैसा बुझाएको पनि छैन, बुझाउनै पर्ने भने यहाँ किन जागिर खान आउथे र ? अन्यत्र काम गर्न सकिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.