बीमा कम्पनीका कर्मचारीको महत्वकांक्षा बढ्यो, तलब सीमा तोक्ने सोचमा बीमा समिति

  २०७४ असोज ९ गते ११:०८     विकासन्युज

काठमाडौं । भटाभट नयाँ बीमा कम्पनीहरु खुल्न क्रम चलिरहदा यस क्षेत्रमा कार्यरत कर्मचारीको महत्वकांक्षा बढेको बीमा समितिका अध्यक्ष जिरञ्जीवी चापागाईँले बताएका छन् । नयाँ अवसर वृद्धिसँगै बीमा कम्पनीमा कार्यरत कर्मचारीमा छिटो छिटो बढुवा र उच्च दरमा पारिश्रमिकको वृद्धिको आकांक्षा पलाएको पाइएको बताउँदै उनले स्थिति जटिल हुने देखिएमा बीमा समिति कर्मचारीको तलव सीमा तोक्न बाध्य हुने बताए ।

‘संस्थागत सुशाशन सम्बन्धी निर्देशिकमा प्रमुख कार्यकारी अधिकृतको तलवको सीमा तोकिएको छ’ उनले भने–‘बीमकको कर्मचारीको तलवमा पनि बेथिति आयो सीमा तोक्नुपर्ने दिन आउँछ । बीमा समितिले यस विषयमा सोचिरहेको छ ।’

नयाँ कम्पनीहरुले पुराना कम्पनीबाट मात्र कर्मचारी तान्ने प्रयास गरेकोमा उनले असन्तुष्टि जनाए । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन कार्यक्रममा बोल्दै चापागाईँले भने–‘विश्वविद्यालय पढेका र बेरोजगार भएर छट्पटाईरहेको युवाहरुलाई अवसर दिनुहोस्, उनीहरुको क्षमता विकासमा कम्पनीले केही लगानी गर्नुपर्छ, त्यसले कम्पनी र बीमा क्षेत्र दुबैलाई ठूलो मद्दत गर्छ ।’

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि करार अवधि तोडेर अर्को कम्पनीमा नजान उनले सचेत गराए । ‘करार अवधि नसकि पुरानो कम्पनीलाई धोका दिएर नयाँ कम्पनीमा जाने प्रमुख कार्यकारी अधिकृतहरुलाई बीमा समितिले राम्रो मान्ने छैन’ उनले –‘बीमा क्षेत्रको स्थायीत्व र विकासका लागि लगानीकर्ता, सञ्चालक, सीईओ, कर्मचारी सबै जिम्मेबार बन्नुपर्छ ।’

बीमा कम्पनीका सञ्चालक, प्रवद्र्धकले सीईओ तथा व्यवस्थापन समितिलाई बढी नाफा, छिटो नाफाको लागि दवाव नदिन पनि उनले निर्देशन दिए । २०६३/६४ देखि २०७३/७४ सम्मका बीमा बजार, नेपालीहरुको औसत आयु, जीडीपीमा धेरै गुणाले वृद्धि भएको तर १० वर्षसम्म नयाँ बीमा कम्पनी नथपिएको उल्लेख गर्दै नयाँ कम्पनीहरुको लागि बजार प्रशस्त भएको उनले बताए ।

ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष पशुपति मुरारकाले नियम, कानुन र बीमा समितिको निर्देशन अनुसार कम्पनी चलाउने, अरु कम्पनीले भन्दा राम्रो सेवा दिने प्रतिवद्धता जनाए । एनआईसी एशिया बैंकसहित ४२ जना प्रवद्र्धक भएको यस कम्पनीमा नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला शर्मा सञ्चालक छन् भने प्रकाश विक्रम खत्री उप प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

यस कम्पनीको जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुले ७० प्रतिशत पुँजी लगानी गरेका छन् भने सर्वसाधारणको लागि ६६ करोड अर्थात ३० प्रतिशत सेयर छुट्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीले सेवा प्रारम्भ गरेकै दिन १० स्थानबाट सेवा प्रारम्भ गरेको र ३ वटा जीवन बीमा योजना आरम्भ गरेको जनाएको छ । तत्काल थप २ जीवन बीमा योजना ल्याउने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.