नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

  २०७८ फाल्गुन १५ गते ३:३९       विकासन्युज

काठमाडौं । आइतबारको बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबार रकम पनि घटेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० बिन्दुमा झरेको हो । जुन गत बिहीबारको तुलनामा ०.२९ प्रतिशतले घटी हो ।

त्यस्तै, परिसूचकसँगै कारोबार रकम १ अर्ब २ करोड रुपैयाँले घटेको छ । बिहीबार ४ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने ३ अर्ब २७ करोड रुपैयाँमा सीमित भएको छ ।

आइतबार सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २० करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आइतबार कारोबारमा आएका १९१ कम्पनीहरुमध्ये ६० कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । र, बाँकी ५ वटा कम्पनीहरुको सेयर मूल्य गत बिहीबारको तुलनामा स्थिर छन् ।

त्यस्तै, आइतबारको बजारमा १३ समूहमध्ये दुई समूह उकालो लागेका छन् । सो दिन हाइड्रोपावर समूह ३४.०३ अंकले बढेको छ भने अन्य समूह १५.१० अंकले उकालो लागेको छ । त्यस्तै, सबैभन्दा बढी घट्नेमा जीवन बीमा समूह रहेको छ । उक्त समूहको परिसूचक ११६.०२ बिन्दुले घटेको छ ।

यता टप गेनरको अग्रस्थानमा नेशनल हाइड्रो पावर कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५३ प्रतिशतले बढेर प्रतिकित्ता ३६६ रुपैयाँ पुगेको छ । हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात ४.५८ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ३५ रुपैयाँले घटेर प्रतिकित्ता ७३० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।