एकैदिन ९७ अंकले बढ्यो नेप्से, ५ कम्पनीको सेयर मूल्यमा सर्किट, मञ्जुश्रीको उच्च कारोबार

  २०७८ श्रावण ३ गते ३:४४       विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार ९७.२१ अंकले बढेको छ । कारोबार शुरु भएदेखि उकालो लागेको सेयर बजार अन्ततः ३.३७ प्रतिशतले उकालो लागेर २९८०.६१ बिन्दुमा पुगेको छ ।

बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । बजारमा ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३ अर्ब ४९ करोड रुपैयाँले बढी हो । गत बिहीबारको बजारमा ८ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको थियो ।

२२१ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको सेयर कारोबार भएको छ । फाइनान्सको एकैदिन ४० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकको कूल ३८ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार ५ कम्पनीका सेयर सर्किट लेभलमा कारोबार भएको छ । समृद्धि फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, न्याङ्दी ग्रुप पावर, हिमालयन पावर पार्टनर र सिँगटी हाइड्रो इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अघिल्लो कारोबारको तुलनामा २२ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकीको बढेको नेप्सेले जनाएको छ ।

बजारमा कारोबारमा आएका १३ वटै समूह हरिया देखिएका छन् । जसमध्ये जीवन बीमा समूह ६४६.८३ अंकले उकालो लागेको छ ।

नयाँ आर्थिक वर्षको पहिलो कारोबार मै लगानीकर्ता उत्साहित भएका छन् । बजारमा आजदेखि विभिन्न तीन नयाँ नियम कार्यान्वयनमा आएसँगै बजारमा हरियाली छाएको बुझिन्छ । साथै, देउवा सरकारले विश्वासको मत पाउने सम्भावना बढेसँगै सेयर बजार पनि बढेको जानकारहरु बताउँछन् ।