उतारचढाव देखिएको बजारमा झिनो अंकको वृद्धि, गोर्खाज फाइनान्सको उच्च कारोबार

  २०७८ आषाढ़ ३० गते ३:२६       विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा उतारचढाव देखिएको छ । दिनभर उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक अन्ततः सामान्य अंकले बढेको छ ।

सो दिन कारोबार खुलेको आधा घण्टा अर्थात बिहान ११ बजेर ३० मिनेट जाँदा नेप्से परिसूचक घटेर २८५८.२४ बिन्दुसम्म झरेको थियो । त्यसपछिको केही बेरमै बढेर २८८२.७ बिन्दुसम्मको उचाईमा पुगेको थियो । तर उक्त उचाई भने कायम रहन सकेन । र, अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक १.०१ अंकले बढेर २८७५.०५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.०४ प्रतिशतले बढी हो ।

बजारमा कारोबार रकममा सुधार देखिएको छ । अघिल्लो दिन ५ अर्ब ५४ करोडको सेयर कारोबार भएको बजारमा आज भने ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको उच्च कारोबार भएको छ । फाइनान्सको एकैदिन २९ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ११८० रुपैयाँ रहेको छ ।

बुधबार टप गेनरको अग्रस्थानमा हिमालयन पावर पार्टनर रहेको छ । समान्य अंकले बढेको बजारमा कम्पनीको सेयर मूल्य ८.१० प्रतिशतले बढेर प्रतिकित्ता ४५४ रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल फाइनान्स र कालिका पावर कम्पनीको सेयर मूल्य क्रमशः ७.७१ र ७.११ प्रतिशतले बढेको छ ।