नेप्सेमा सामान्य करेक्सन, साढे १६ अर्बको कारोबार, सबैभन्दा बढी पुर्नबीमा कम्पनीको

  २०७८ आषाढ़ १ गते ३:२६       विकासन्युज

काठमाडौं । मंगलबारको बजारमा सामान्य करेक्सन देखिएको छ । बजारमा नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१२ प्रतिशतले घटी हो ।

बजारमा १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २२६ कम्पनीको ३ लाख ९ हजार कित्ता सेयर किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १९३० रुपैयाँ रहेको छ ।

बजारमा तीन हाइड्रोको सेयर मूल्यमा सर्किट लागेको छ । सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.८८ प्रतिशत, खानीखोला हाइड्रोपावर कम्पनीको ९.८२ र यूनियन हाइड्रोपावरको सेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, बढी गुमाउनेको अग्रस्थानमा पनि हाइड्रो कम्पनी नै रहेका छन् । सबैभन्दा बढी छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य ७.६६ प्रतिशतले घटेर प्रतिकित्ता ५०६ रुपैयाँमा झरेको छ ।