नेप्सेमा दैनिक नयाँ रेकर्ड, ११ अर्ब माथिको सेयर किनबेच, ३३ कम्पनीको मूल्यमा सर्किट

  २०७८ ज्येष्ठ ४ गते ३:२३       विकासन्युज

काठमाडौं । साताको शुरुवातदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा दैनिक नयाँ नयाँ रेकर्ड कायम भएको छ । गत दुई दिन लगातार बढेर उच्च बिन्दुमा पुगेको परिसूचक मंगलबारकोे बजारमा भने परिसूचक र कारोबार रकम दुबैमा एतिहासिक रेकर्ड कायम भएको छ ।

मंगलबारको परिसूचक ३४.५९ अंकले बढेर २७९३.८१ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । अघिल्लो दिनको तुलनामा १.२५ प्रतिशतले बढी हो । अघिल्लो दिन अर्थात जेठ ३ गतेको बजारमा परिसूचक २७५९.२२ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । तर उक्त रेकर्डलाई मंगलबारको बजारले तोड्न सफल भएको छ ।

त्यस्तै, मंगलबारको बजारमा ११ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो । यसअघि गत माघ २५ गते १० अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

उच्च कारोबार भएको बजारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ६७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १६९३ रुपैयाँ पुगेको छ । यो कम्पनीको पनि गत केही दिनदेखि यता उच्च कारोबार भइरहेको छ ।

नयाँ रकेर्ड कायम भएको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये एकैदिन ३३ कम्पनीको सेयर मूल्य सर्किट लेभलका किनबेच भएको छ । २१५ कम्पनीको सेयर कारोबार भएको बजारमा २१ कम्पनीको सेयर मूल्य सामान्य प्रतिशतले घटेका छन् भने बाँकी सबैकाे सेयर मूल्य बढेको छ ।