नेप्से सामान्य बढ्दा ९ कम्पनीका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले बढ्यो

  २०७८ वैशाख २१ गते ३:३४       विकासन्युज

काठमाडौं । मंगलबारको बजार सामान्य अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा पनि ९ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बजारमा २१३ कम्पनी सेयर कारोबारमा आएका थिए । जसमध्ये १३२ कम्पनीका लगानीकर्ताको भर्च्युअल सम्पत्ति अघिल्लो दिनको तुलनामा बढेको छ । त्यसमा पनि १० कम्पनीका लगानीकर्ताको सम्पत्ति सोमबारको तुलनामा करिब १० प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी समता घरेलु लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । यी दुईको सेयर मूल्य बढेर क्रमशः प्रतिकित्ता ६०५ र ४१५८ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, बिशाल बजार कम्पनीको ९.९९, सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्थाको ९.९८, राधी विद्युत कम्पनी र रुरु जलविद्युत परियोजनाको ९.९०/९.९० प्रतिशतले सेयर मूल्य बढेको छ । त्यसैगरी, सिंगटी हाइड्रो इनर्जीको ९.८२, यूनाईटेड मोदी हाइड्रोपावरको ९.७३, पञ्चकन्या माई हाइड्रोपावरको ९.७३ र पाँचथर माई हाईड्रोपावरको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ ।

मंगलबारको बजारमा परिसूचकमा झिनो सुधार देखिएपनि कारोबार रकम घटेको छ । नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ अंकमा पुगको छ । त्यस्तै, सोमबार ७ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगबलार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ ।

कूल कारोबार रकममध्ये सबैभन्दा बढी एनसीसी बैंकको सेयर कारोबार भएको छ । कम्पनीको २३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साथै, बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ३६८ रुपैयाँमा कारोबार भएको छ ।

उता सबैभन्दा बढी चन्द्रागिरी हिल्स पावरको सेयर मूल्य १.९८ प्रतिशतले घटेर प्रतिकित्ता १९३० रुपैयाँमा झरेको छ । यससँगै कम्पनीका लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा ३९ रुपैयाँले घटेको छ ।