९२ अंकले बढेको बजारमा ७ कम्पनीका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले बढ्यो

  २०७८ वैशाख १४ गते ३:४०       विकासन्युज

काठमाडौं । दुई दिन निरन्तर घटेको बजार मंगलबार उच्च अंकले बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ९२.४६ अंकले बढेर २५९९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.६९ प्रतिशतले बढी हो ।

बजारमा नेप्से परिसूचकमा राम्रो सुधार देखिएपनि कारोबार रकममा गिरावट देखिएको छ । सोमबार ६ अर्ब ५९ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार भने ५ अर्ब १० करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा बढी अपर तामाकोशीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन २३ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । साथै, कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

मंगलबार २१६ कम्पनी कारोबार आएका थिए । जसमध्ये ७ कम्पनीका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले बढेको छ । त्यसमा पनि सबैभन्दा बढी अपर तामाकोशीको सेयर मूल्य १० प्रतिशत अर्थात ७७ रुपैयाँले बढेर प्रतिकित्ता ८४७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था, यूनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल, सुमीट लघुवित्त वित्तीय संस्था, मल्टी प्रपोज फाइनान्स र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा किनबेच भएको छ ।

मंगलबार १० कम्पनीको मात्रै सेयर मूल्य घटेको छ ।