७ अर्ब माथिको कारोबार हुँदा सबैभन्दा बढी अपर तामाकोशीको, सेयर मूल्य भने घट्यो

  २०७७ चैत्र १९ गते ३:१८       विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा ७ अर्ब माथिको सेयर कारोबार भएको छ । सो दिन २१८ कम्पनीको ७ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब रुपैयाँले बढी हो ।

अघिल्लो दिन अर्थात बुधबारको बजारमा ६ अर्ब १४ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो ।

कारोबार रकममा सुधार भएको बजारमा सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन २९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सेयर कारोबार रकममा सुधार भएको कम्पनीको सेयर मूल्यमा भने गिरावट देखिएको छ । बिहीबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८८० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १८ रुपैयाँले घटी हो ।

बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि सुधार भएको छ । परिसूचक १२.८८ अंकले बढेर २६३१.९० बिन्दुमा पुगेको छ ।

त्यस्तै, ७ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सबैभन्दा बढी साञ्जेन जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३८५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, यूनाईटेड फाइनान्स र किसान लघुवित्त वित्तीय संस्थाको ९.९५ प्रतिशत, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र एनआईसी एशिया लघुवित्तको ९.९४ प्रतिशत, अजोड इन्स्योरेन्सको ९.९१ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको ९.७८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ्ग कर्पोरेसनको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी अर्थात ९.१६ प्रतिशतले बढेर प्रतिकित्ता १३ हजार ३१७ रुपैयाँ पुगेको छ ।