सेयर बजारमा रेकर्ड कायमै, पौने ९ अर्बको कारोबार हुँदा सबैभन्दा बढी एनआईसी एशियाको

  २०७७ फाल्गुन ६ गते ३:३८       विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजारले दैनिक नयाँ रेकर्ड राख्दै आएको छ । गत सोमबारदेखि दैनिक नयाँ उचाईमा पुगेको नेप्से परिसूचक आज बिहीबार पनि नयाँ उचाईमा पुग्न सफल भएको छ ।

बिहीबारको परिसूचक २५.२३ अंकले बढेर २६३६.६८ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने अघिल्लो दिनको तुलनामा ०.९७ प्रतिशतले बढी हो ।  गत फागुन ३ गतेदेखि यता फागुन ६ गते तीन दिनसम्ममा परिसूचक ६३ अंकले बढेकाे हाे ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६.७७ अंकले बढेर ४८१.७८ बिन्दुमा पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा पौने ९ अर्बको सेयर कारोबार भएको छ । कूल ८ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा एनआईसी एशिया बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । बैंकको एकैदिन ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९६३ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को पनि ५० करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । र, सबैभन्दा बढी कारोबार गर्नेको दोश्रो स्थानमा पर्न सफल भएको छ । निरन्तर मूल्य बढेको बैंकको सेयर प्रतिकित्ता ५४६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

बजारमा तीन समूह जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी ट्रेडिङ्ग समूह ७२.९२ अंकले उकालो लागेको छ ।

बिहीबार एक कम्पनीको सेयर मूल्यमा सर्किट र बाँकी ६ कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, कर्णालाी डेभलपमेन्ट बैंकको ९.९४, एभरेष्ट बैंकको कन्फेरेन्स प्रिफेरेन्सको ९.९४, बेष्ट फाइनान्स कम्पनीको ९.८८, सिभिल बैंकको ९.८७, निफ्राको ९.८६ र समृद्धि फाइनान्सको सेयर मूल्य ९.६९ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।

सो दिन मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.९१ प्रतिशतले घटेरको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता १६४५ रुपैयाँमा भएको हो ।