बजारमा दैनिक नयाँ रेकर्डः नेप्सेले सजिलै पार गर्याे २३०० बिन्दु, १६ कम्पनीका सेयरधनीले कमाए ९ प्रतिशत बढी

  २०७७ माघ ४ गते ३:२१       विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालको दोश्रो बजारले दैनिक नयाँ नयाँ रेकर्ड राखेको छ । अघिल्लो सातादेखि दैनिक उकालो लागेको परिसूचक आज पनि उकालो लागेर नयाँ रेकर्ड राख्न सफल भएको हो ।

साताको पहिलो दिन आइतबार खुलेको बजारमा परिसूचक २८.४६ अंकले बढेर २३१५ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघिको बजारमा परिसूचकले २३ सय बिन्दु पार गरेको थिएन ।

यसअघि गत बिहीबार मात्रै २२८६ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको परिसूचकले आज अर्को रेकर्ड राख्न सफल भएको छ । आइतबार कारोबार शुरु भएदेखि नै उकालो लागेको परिसूचक बीचमा केही उतारचढाव आएको थियो । अन्ततः परिसूचक अघिल्लो कारोबारको तुलनामा १.२५ प्रतिशतले बढेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ८.१७ अंकले बढेर ४४३ बिन्दुमा पुगेको छ । जुन गत बुधबारको तुलनामा १.८८ प्रतिशतले बढेको हो ।
परिसूचकले नयाँ रेकर्ड राखेको बजारमा ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २०८ कम्पनीको एक करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ५ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य ७.६० प्रतिशतले बढेर प्रतिकित्ता १३५९ रुपैयाँ पुगेको छ । बजारमा बढी कारोबार हुनेमा अधिकांश वाणिज्य बैंकका सेयर रहेका छन् ।

परिसूचक नयाँ उचाईमा पुगेको दिन १६ कम्पनीका सेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । जसमध्ये सबैभन्दा बढी साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । कम्पनीको सेयर अघिल्लो कारोबारको तुलनामा ६९३ रुपैयाँले बढेर प्रतिकित्ता ७ हजार ६२३ रुपैयाँ पुगेको छ ।

कसले कति कमाए ?

हाइड्रो बाहेक सबै समूहमा छायाे हरियाली

आइतबार हाइड्रो पावर समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी ट्रेडिङ समूह २३२ अंकले उकालो लागेको छ भने म्युचुअल फण्ड समूह सबैभन्दा कम ०.०८ बिन्दुले उकालो लागेको छ । हाइड्रो पावर समूह भने ७.२ अंकले घटेको छ ।

उच्च अंकले बढेको बजारमा यूनाइटेड फाइनान्सको सेयर मूल्य भने सबैभन्दा बढीले घटेको छ । कम्पनीको सेयर मूल्य ५.७१ अंकले घटेर प्रतिकित्ता ३३० रूपैयाँमा झरेको छ । जुन गत बुधबारको तुलनामा २० रूपैयाँले घटी हो ।