नेप्सेको रफ्तार कायमै, १० कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७७ पौष २९ गते ३:१६       विकासन्युज

काठमाडौं । पुँजीबजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको रफ्तार कायमै रहेको छ । गत साताको मंगलबारदेखि दैनिक उकालो लागेको परिसूचक हालसम्म निरन्तर उकालो लागेको हो ।

र, गत बिहीबारदेखि दैनिक नयाँ नयाँ रेकर्ड राखेको परिसूचकले आज बुधबार पनि नयाँ रेकर्ड राख्न सफल भएको छ । पुस २९ गते बुधबारको नेप्से परिसूचक १८.८१ अंकले बढेर २२८६.५४ बिन्दुमा पुगेको छ । जुन नेपाली पुँजीबजारको इतिहासमा हालसम्मकै उच्च बिन्दु हो ।

गत साताको मंगलबार परिसूचक २१६६ बिन्दुमा रहेको थियो । त्यसपछि दैनिक निरन्तर बढेर बुधबार २२८६ बिन्दुमा पुगेको छ । यो अवधिमा परिसूचक १२० अंकले बढिसकेको छ ।

त्यस्तै, आज बुधबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ४३५.२५ बिन्दुमा पुगेको छ ।

दिनभरको कारोबारमा ५ अर्ब ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन २०७ कम्पनीको १ करोड ३२ लाख कित्ता सेयर किनबेच भएको छ । जसमध्ये नेपाल दूरसञ्चार कम्पनी(एनटीसी)को सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन २६ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२६३ रुपैयाँ रहेको छ ।

त्यस्तै, बजारमा एकैदिन १२ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीले १० प्रतिशत कमाएका छन् । कम्पनीको सेयर मूल्य अघिल्लाे दिनकाे तुलनामा ३१ रुपैयाँले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ ।

बुधबार कसले कति कमाए ?

बुधबार २ समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । बैंकिङ्ग र होटल समह सामान्य अंकले घटेका छन् भने बाँकी समूह उकालो लागेका छन् । उकालो लाग्नेमा सबैभन्दा बढी उत्पादनमूलक समूह २४२ अंकले बढको छ ।