सेयर बजारमा करेक्सनः पौने ५ अर्बको कारोबार हुँदा सबैभन्दा बढी नेपाल बैंकको

  २०७७ मार्ग ८ गते ४:०१       विकासन्युज

काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको बजारमा सोमबार करेक्सन भएको छ । गत कार्तिक २० गतेदेखि निरन्तर बढेको बजार आज(मंसिर ८ गते) सामान्य अंकले घटेको छ ।

यो अवधिमा नेप्से परिसूचक १६३६ अंकदेखि १८०० अंकसम्म पुग्यो । सोमबारको बजारमा भने नेप्से परिसूचक २.३८ अंकले घटेर १७८०.४३ अंकमा झरेको छ । जुन आइतबारको तुलनामा ०.१३ प्रतिशतले घटी हो ।

बजारमा परिसूचकसँगै कारोबार रकममा पनि करेक्सन भएको छ । आइतबार पौने ७ अर्ब माथिको सेयर कारोबार भएको बजारमा सोमबार भने पौने ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभर १९९ कम्पनीको एक करोड २० लाख कित्ता सेयर ४ अर्ब ७६ रुपैयाँ बराबरमा कारोबार भएको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ३० करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३६८ रुपैयाँ रहेको छ ।

सोमबार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र हिमालयन डिष्टिलरीको सेयर मूल्य क्रमशः ९.९२ र ९.४५ प्रतिशतले बढेको छ । यी दुबैको सेयर मूल्य प्रतिकित्ता क्रमशः २७७ र ३ हजार ११५ रुपैयाँ रहेको छ ।

उता एनआईसी एशिया ब्यालेन्सड फण्डको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५४ प्रतिशतले घटेको छ ।

बजारमा बैंकिङ्ग, ट्रेडिङ्ग, होटल र उत्पादनमूलक समूह उकालो लागेका छन् भने बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह १८२ अंकले घटेको छ ।