साढे २ घण्टा नबित्दै साढे ३ अर्बको कारोबार, दर्जनौं कम्पनीको सेयर मूल्यमा सर्किट

  २०७७ मार्ग ४ गते १:३५       विकासन्युज

काठमाडौं । बिहीबार सेयर बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा साढे ३ अर्ब बढीको कारोबार भएको छ । दिउँसो १ बजेर २४ मिनेट जाँदा बजारमा १९३ कम्पनीको ३ अर्ब ५७ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको २४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । त्यस्तै, हिमालयन डिष्टिलरीको २२ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि सुधार आएको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३१ अंकले बढेर १७७२.८२ अंकमा पुगेको छ । जुन १.७८ प्रतिशतले बढी हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.९९ अंक अर्थात १.४८ प्रतिशतले बढेर ३४३ अंकमा पुगेको छ ।

त्यस्तै, दर्जनौं कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये तारागाँउ रिजेन्सी होटल र यूनिलिभर नेपालको सेयर मूल्य १०र१० प्रतिशतले बढेको छ । बाँकीको सर्किट लेभलमा किनबेच भएको छ ।

यो अवधिसम्ममा बैंकिङ्ग बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ३५३ अंकले उकालो लागेको छ । बैंकिङ्ग समूह भने सामान्य १.४४ अंकले घटेको छ ।