तिहारपछिको बजारमा पौने ५ अर्ब बढीको कारोबार, ५ कम्पनीको मूल्यमा सर्किट

  २०७७ मार्ग ३ गते ३:५१       विकासन्युज

काठमाडौं । तिहारपछि खुलेको बजारमा पौने ५ अर्ब बढीको सेयर कारोबार भएको छ । तिहार लगत्तै अर्थात मंसिर ३ गते बुधबार खुलेको पहिलो दिनको बजारमा कूल १९४ कम्पनीको ४ अर्ब ७९ लाख कित्ता सेयर किनबेच भएको हो ।

दिनभर कारोबार भएको बजारमा कूल १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर ४३ हजार ६ सय ७३ पटकमा किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ३३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १०३७ रुपैयाँ पुगेको छ ।

बुधबारको बजारमा नेप्से परिसूचक पनि दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुले लगत्तै ओरालो लागेको सूचक केही समय पश्चता निरन्तर उकालो लागेर १७४१.८१ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २३.३२ अंक अर्थात १.३६ प्रतिशतले बढी हो ।

बुधबारको बजारमा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । गोरखार्ज फाइनान्स र हिमालयन डिष्टिलरीको सेयर मूल्य १०/१० प्रतिशतले बढेर प्रतिकित्ता क्रमशः १८७ र २,६६२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत, बोटलर्स नेपाल(तराई)को ९.९९ र साल्ट ट्रेडिङ कर्पोरेशनको ९.९८ प्रतिशतले बढेको छ । यी तीन कम्पनीको मूल्य क्रमशः प्रतिकित्ता ३ हजार २७, ८ हजार ४४६ रुपैयाँ र ६ हजार ५ सय ८७ रुपैयाँ पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा ३ समूह बैंकिङ्ग, विकास बैंक र हाइड्रो पावर बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ५२१ अंकले उकालो लागेको छ ।

उता घलेम्दी हाइड्रोको सबैभन्दा बढी अर्थात ५.८० प्रतिशतले सेयर मूल्य घटेर प्रतिकित्ता १३० रुपैयाँमा झरेको छ ।