सेयर बजारमा उछालः परिसूचक एक वर्ष यताकै उच्च बिन्दुमा, लगानीकर्ताको आकर्षण वाणिज्य बैंकमा

  २०७७ कार्तिक १२ गते ३:२५       विकासन्युज

काठमाडौं । दशैंपछि खुलेको पहिलो दिनको सेयर बजारमा उछाल आएको छ । ५ दिनपछि खुलेको बजारमा नेप्से परिसूचक ४१.२० अंकले उकालो लागेर १६४७.४५ बिन्दुमा पुगेको छ । जुन एक वर्षयताकै उच्च बिन्दु हो ।

बजारमा १८८ कम्पनीको २ अर्ब ७२ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा ४२ हजार ६ सय १८ पटकमा ९३ लाख २२ हजार ८५ कित्ता सेयर किनबेच भएको हो ।

बुधबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२१ अंकले बढेर ३२७.७६ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २.८९ प्रतिशत बढी हो ।

बजारमा अधिकांश लगानीकर्ताहरु वाणिज्य बैंकतर्फ आकर्षित भएका छन् । बढी कारोबार हुनेको अग्रस्थानमा १० वटै वाणिज्य बैंकहरु रहेका छन् । बैंकहरूले डबल डिजिटमा लाभांश घाेषणा गरेसँगै र बाँकीले पनि साेही मात्रामा लाभांश घाेषणा गर्ने आशमा लगानीकर्ताहरू वाणिज्य बैंककाे सेयरमा आकर्षित भएका जानकारहरू बताउँछन् ।

जसमध्ये सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन २० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ रहेको छ ।

त्यस्तै, प्राइम कमर्शियल बैंकको १७ करोड ४४ लाख रुपैयाँ, प्रभु बैंकको १६ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकको १० करोड ७० लाख रुपैयाँ, नेपाल बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, कुमारी बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, सिभिल बैंक र मेगा बैंकको पनि साढे ६ करोड माथिको सेयर कारोबार भएको छ ।

बुधबार ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ११० अंकले बढेको छ । विकास बैंक ६०, बैंकिङ्ग ५५ र निर्जीवन बीमा ४७ अंकले उकालो लागेको छ । ट्रेडिङ्ग समूह भने ८.८३ अंकले घटेको छ ।

बजारमा प्राइम कमर्शियल बैंकको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.९० प्रतिशतले बढेको छ । त्यस्तै, नेपाल फाइनान्सको ९.६४ र सिटिजन्स बैंकको ९.५५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रभु बैंकको ८.५० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर मूल्य ८.३३ प्रतिशतले बढेको छ ।