अधिकांश हाइड्रोको सेयर मूल्यमा उछाल, बिहीबार १६ कम्पनीका लगानीकर्ताले कमाए ९% बढी

  २०७७ असोज ८ गते ३:५९       विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा अधिकांश हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । बजारमा १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । जसमध्ये ६ वटा हाइड्रो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढी अपी पावर कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ । त्यस्तै, माउन्टेन हाइड्रोपावर नेपाल, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, दिब्यश्वरी हाइड्रोपावर, बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले उकालो लागेर सर्किट लागेको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, खानी खोला हाइड्रोपावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, यूनाईटेड मोदी हाइड्रोपावर, हाइड्रो इलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, घलेम्दी हाइड्रोको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यसैगरी, युनाईटेड फाइनान्सको ९.१७, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.१५, आँखुखोला जलविद्युत कम्पनीको ९.०९ र अरुण काबेली पावरको ९ प्रतिशतले सेयर मूल्य उकालो लागेको छ ।

उता सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डको सेयर मूल्य २.१२ प्रतिशतले घटेको छ ।

बिहीबारको नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबारको तुलनामा बिहीबारको नेप्से परिसूचक ५.७४ अंक अर्थात ०.३७ प्रतिशतले बढेर १५६१ अंकमा पुगेको छ ।

बजारमा कूल १९३ कम्पनीको ८९ लाख ७१ हजार ३ सय ३ कित्ता सेयर २ अर्ब २२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण काबेली पावरको सेयर कारोबार भएको छ । कम्पनीको १४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ रहेको छ ।