दोहोरो अंकले बढ्यो नेप्से, एक अर्ब माथिको सेयर कारोबार

  २०७७ भाद्र ७ गते ३:२८       विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचक १२.७७ अंकले उकालो लागेर १४१०.३४ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.९१ प्रतिशतले बढी हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.१९ अंकले बढेर २८९ अंकमा पुगेको छ ।

दोहोरो अंकले बढेको बजारमा एक अर्ब माथिको सेयर कारोबार भएको छ । एक सय ८४ कम्पनीको कारोबार सो दिन २४ लाख ९८ हजार ६ सय ६२ कित्ता सेयर कूल एक अर्ब १० करोड रुपैयाँ बराबरमा किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी नेको इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ७ सय २६ रुपैयाँ पुगेको छ ।

बजारमा कारोबारमा आएका तीन समूह बाहेक बाँकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २३३ अंकले बढेको छ । ट्रेडिङ्ग, हाइड्रो र म्युचअल फण्ड सामान्य अंकले ओरालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी समृद्धि फाइनान्सको सेयर मूल्य ९.७७ प्रतिशतले बढेको छ । आइतबार संस्थाको सेयर मूल्य ९.७७ प्रतिशतले बढेर प्रतिकित्ता एक सय ४६ रुपैयाँ पुगेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको सेयर मूल्य ७.२४ प्रतिशतले बढेको छ ।