१७ अंकले घट्यो नेप्से, एक अर्ब बढीको कारोबार, सबैभन्दा बढी पुनर्बीमा कम्पनीको

  २०७७ श्रावण ३२ गते ३:२५       विकासन्युज

काठमाडौं । आइतबारको नेप्से परिसूचक १७.३३ अंकले घटेर १३९१ अंकमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२३ प्रतिशतले घटेको हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९८ अंकले घटेर २८८ अंकमा झरेको छ । बजारमा एक अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन एक सय ८५ कम्पनीको ४३ लाख ७१ हजार ८ सय ५४ कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी अर्थात ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ७५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ८६ लाख र नेपाल बैंकको ६ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार ट्रेडिङ् समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७६ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ५८, निर्जीवन बीमा ४९, विकास बैंक ३२, माइक्रोफाइनान्स २९ र बैंकिङ समूह १९ अंकले ओरालो लागेका छन् । ट्रेडिङ् समूह १० अंकले बढेको छ भने बाँकी समूह सामान्य अंकले घटेका छन् ।

साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ९८ रुपैयाँ पुगेको छ । त्यस्तै, छ्याङ्दी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६४ प्रतिशतले बढेर प्रतिकित्ता ६१ अंकमा पुगेको छ ।