भौतिक उपस्थितिलाई कम गर्न नेप्सेकाे आग्रह, गर्यो यस्तो व्यवस्था

  २०७७ श्रावण २७ गते ४:२१       विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले पुँजीबजारसँग सम्बन्धित सबै सरोकारवालाहरुलाई भौतिक उपस्थितिलाई कम गर्न आग्रह गरेको छ । कोरोना महामारी संक्रमणलाई न्युनीकरण गर्ने प्रयास स्वरुप नेप्सेले सञ्चालन गर्ने गतिविधिहरुमा सकेसम्म भौतिक आवागमलाई कम गराउन उक्त आग्रह गरेको हो ।

यसको लागि नेप्सेले विभिन्न व्यवस्थाहरु गरेको छ । जस्तै, सदस्य दलालहरुले नेप्सेसँग गर्नुपर्ने कामकार्वाहीका लागि भौतिक उपस्थितिलाई सम्भव भएसम्म कम गर्ने र नेप्सेमा पेश गर्नुपर्ने कागजातहरु यथासम्भव इमेलमार्फत अभौतिक रुपमा (पीडीएफ फाइल) पठाउन नेप्सेले आग्रह गरेको छ ।

त्यस्तै, सदस्य दलालहरुले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत इमेल पठाउन लगाउने र सोको जानकारी account@nepalstock.comsupport@nepalstock.com मा पठाउने ।

संस्थापक सेयरको कारोबार गर्न गराउन सदस्य दलालहरले आवश्यक सम्पूर्ण कागजात संकलन गरिसकेपछि मात्र नेप्सेमा पेश गर्न सकिन्छ ।

सूचीकृत कम्पनीहरुले सूचीकरण नवीकरण वार्षिक शुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्ने र सोको जानकारी listing@nepalstock.comaccount@nepalstock.com मार्फत गराउन सकिने नेप्सेले जनाएको छ ।

सूचीकृत कम्पनीहरुले नेप्सेसँग भएको सूचीकरण सम्झौता अनुरुपका जानकारी तथा विवरणहरु इमेल(listing@nepalstock.com) मार्फत पठाउने सक्नेछन् । संलग्न गर्नुपर्ने कागजातहरु अभौतिक रुपमा पीडीएफ फाइल पठाउन सकिने व्यवस्था नेप्सेले गरेको छ ।

लगानीकर्ताले सदस्य दलालमार्फत पुँजीगत लाभकर प्रमाणीकरण सिफारिशका लागि पेश गर्ने निवेदन आवश्यक सम्पूर्ण कागजात संकलन भइसके पछि मात्र नेप्सेमा पेश गर्न सकिने छ ।

सदस्य दलालहरुले कार्यालय सञ्चालन गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले कोरोना महामारी नियन्त्रणका लागि अपनाउनु पर्ने सावधानी (भौतिक दुरी कायम गर्ने, मास्क लगाउने ज्वरो नाप्ने, सानिटाइजरको प्रयोग गर्ने आदि) का सम्बन्धमा जारी गरेका निर्देशन तथा सिफारिशहरु कडाइका साथ पालना गर्न नेप्सेले आग्रहले गरेको छ ।

साथै, सदस्य दलालहरुले धितोपत्र कारोबारका सन्दर्भमा लगानीकर्ताहरुलाई अनलाईनको प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने नेप्सेले जनाएको छ ।