दोहोरो अंकले बढ्यो नेप्से, अजोड इन्स्योरेन्स र साधना लघुवित्तको मूल्यमा लाग्यो सर्किट

  २०७७ श्रावण २५ गते ३:२७       विकासन्युज

काठमाडौं । आइतबारको नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । दिनभरको कारोबारमा उतारचढाव देखिएको परिसूचक अन्ततः ११.३० अंकले बढेर १३९२ अंकमा पुगेको छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा ०.८२ प्रतिशतले बढी हो ।

त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४६ अंकले बढेर २९१ अंकमा पुगेको छ ।

बजारमा कूल ९१ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन एक सय ८७ कम्पनीको ३० लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी अजोड इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको कूल ९ करोड २० लाख कित्ता सेयर किनबेच भएको हो ।

आइतबारको बजारमा हालै नेप्सेमा सूचीकृत भएका दुई नयाँ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अजोड इन्स्योरेन्स र साधना लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८८ र ९.८२ प्रतिशतले बढेर सर्किट लागेको हो । यी दुईको सेयर मूल्य क्रमशः प्रतिकित्ता ४ सय ६७ र ४ सय ३६ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल बैंकको सेयर मूल्य ६.४८ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ६३ रुपैयाँ पुगेको छ । बैंकले आज मात्रै गत आर्थिक वर्षको असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

बजारमा होटल समूहबाहेक कारोबारमा आएका सबै समूह हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा १२९ र निर्जीवन बीमा १०३ अंकले उकालो लागेका छन् । होटल समूह भने २७ अंकले घटेको छ ।