नयाँ आर्थिक वर्षलाई सेयर बजारको स्वागत, छायो हरियाली, परिसूचक १४ सय नजिक

  २०७७ श्रावण १ गते ३:२०       विकासन्युज

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७७/७८ वर्ष शुरु भएसँगै सेयर बजारमा हरियाली छाएको छ । नयाँ आव शुरु भएको पहिलो दिन नै बजार ३२.४२ अंकले बढेर १४ सय(अर्थात १३९४.७७) अंक नजिक पुगेको छ ।

कारोबार खुलेको करिब एक घण्टाको अवधिपछि निरन्तर रुपमा बढेको नेप्से परिसूचक हिजोको तुलनामा २.३८ प्रतिशतले बढेको हो । त्यस्तै, क वर्षको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.८१ अंकले बढेर २ सय ९५ अंक नागेको छ ।

बिहीबारको बजारमा कूल एक सय ८० कम्पनीको एक अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी अर्थात ९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कारोबारमा आएका सबै समूह हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह एक सय ३१ अंकले उकालो लागेको छ । त्यस्तै, निजीवन बीमा समूह ७९ अंकले बढेको छ ।

बिहीबार तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । जसकाे सेयर मूल्य प्रतिकित्ता ५ सय ८५ रूपैयाँ पुगेकाे छ । त्यस्तै, मितेरी डेभलपमेन्ट बैंक र लक्ष्मी बैंककाे सेयर मूल्य क्रमशः ९.१२ र ९.०९ प्रतिशतले बढेकाे छ ।