एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा उछाल कायमै, १० मिनेटमै लाग्यो सर्किट

  २०७७ आषाढ़ २९ गते १:०८       विकासन्युज

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयरमा तीन दिनदेखि लगातार पोजेटिभ सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएको दिनदेखि सेयर मूल्यमा लगातार उछाल आएपछि तेस्रो दिन पनि पोजेटिभ सर्किट लागेको हो ।

सोमबार सेयर बजारमा कारोबार सुरु भएको १० मिनेट नबित्दै एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा उछाल आएपछि पोजेटिभ सर्किट लागेको हो । कम्पनीको सेयरमा खरिद चाप बढे पनि बिक्री गर्ने एकजना पनि नभएपछि पोजिटिभ सर्किट लागेको हो ।

साेमबार कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत अर्थात ४० रुपैयाँले बढेर प्रतिकित्ता ४ सय ४० रुपैयाँ पुगेको छ । आइतबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ रहेको थियो ।

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा संस्थाको ३ लाख ५३ हजार ५ सय २१ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने कम्पनीको सेयर बिक्री गर्न चाहने कोहि पनि छैनन् । जसले गर्दा संस्थाको सेयर खरिदमा चाप देखिएको हो ।

यसअघि गत बिहीबार र आइतबार पनि संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको थियो ।