आइतबार यी कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

  २०७७ आषाढ़ २८ गते ३:४४       विकासन्युज

काठमाडौं । आइतबारको बजारमा नेप्से परिसूचक ९.०२ अंकले उकालो लागेर एक हजार ३ सय ४० अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.६८ प्रतिशत बढी हो ।

दिनभर उतारचढाव देखिएको बजारमा एक अर्ब ११ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन कूल १ सय ७९ कम्पनीको २६ लाख ७८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् ।

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी अर्थात १६ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक हजार २ सय ७६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ९ रुपैयाँ रहेको छ ।

आइतबार ७ कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९९ प्रतिशत कमाएका छन् । यस संस्थाको सेयर मूल्य प्रतिकित्ता ९ सय ६९ रुपैयाँ रहेको छ ।

त्यस्तै, स्वराेजगार लघुवित्त विकास बैंकको ९.९८, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको ९.९४, मिथिला लघुवित्त वित्तीय संस्थाको ९.९३, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९.८९, मञ्जुश्री फाइनान्सको ९.७२ र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.३२ प्रतिशतले बढेको छ ।

बजारमा १२ समूह कारोबारमा आएका थिए । जसमध्ये ७ वटा समूह हरिया देखिएका छन् भने ५ समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको सूचक एक सय ९७ अंकले उकालो लागेको छ भने होटल समूह ५३ अंकले ओरालो लागेको छ ।