एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट, प्रतिकित्ता कति पुग्याे ?

  २०७७ आषाढ़ २८ गते ११:३३       विकासन्युज

काठमाडौं । आइतबार पनि एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार शुरु भएको करिब आधा घण्टा नबित्दै कम्पनीको सेयर मूल्य ९.८९ प्रतिशतले बढेर सर्किट लागेको हो ।

दोश्रो बजारमा कारोबार भएको पहिलो दिन पनि २० मिनेट निबित्दै सेयर मूल्यमा सर्किट ब्रेक लागेको थियो । दोश्रो दिनमा पनि सोहि अवधिमा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो ।

आइतबार प्रतिकित्ता ३ सय ६४ रुपैयाँदेखि कारोबार शुरु भएको संस्थाको सेयर मूल्य सो अवधिसम्म ३६ रुपैयाँले बढेर प्रतिकित्ता ४ सय रुपैयाँ पुगेको छ ।

बिहीबारजस्तै आइतबार पनि संस्थाको सेयर किन्नेको चाप बढेको छ । सो अवधिसम्म ३ लाख ३८ हजार १ सय ८२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक देखिन्छन् । तर सेयर बेच्न इच्छुक कोहि पनि छैनन् ।