३३ अंकले बढ्यो सेयर बजार, म्युचअल फण्ड बाहेक सबै समूह हरिया

  २०७७ आषाढ़ २२ गते ३:१२       विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक ३३.२७ अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६३ प्रतिशतले बढेर १२९८.७३ अंकमा पुगेको हो ।

त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.३० अंकले बढेर २ सय ७५ अंकमा पुगेको छ । बजारमा कुल एक सय ७६ कम्पनीको ९२ करोड ७८ लाख ४१ हजार ३ सय २९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिन कारोबारमा आएको म्युचअल फण्ड समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । बजारमा १२ समूह कारोबारमा आएका थिए । जसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह २ सय ७४ अंकले बढेको छ ।

बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको १४ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ४ सय ४० रुपैयाँ रहेको छ । जुन आइतबारको तुलनामा ४० रुपैयाँले बढी हो ।

साेमबार दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य १० १० प्रतिशतले बढेको हो । जसको सेयर मूल्य क्रमशः एक हजार ३ सय २० र ४ सय ४० रुपैयाँ रहेको छ ।