अनलाइन कारोबार सम्बन्धी आएका गुनासालाई यसरी सम्बोधन गर्यो नेप्सेले

  २०७७ आषाढ़ २२ गते ११:५०       विकासन्युज

काठमाडौं । नेप्सेले कोभिड-१९ महामारीलाई दृष्टिगत गरी नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) मार्फत अनलाइन कारोबार मात्र गर्न सकिने व्यवस्था गरेको छ । जसमा लगानीकर्ताहरुबाट विभिन्न गुनासा तथा जिज्ञासाहरु आइरहेका छन् ।

लगानीकर्ताबाट आएका उक्त गुनासा तथा जिज्ञासालाई मेटाउन नेप्सेले १० बुँदे स्पष्टीकरण जारी गरेकाे छ ।

१. लगानीकर्ताले कारोबारका लागि आदेश प्रविष्ट गर्दा कुनै समस्या भए सर्वप्रथम सम्बन्धित सदस्य दलाललाई सम्पर्क गर्नुपर्छ । सदस्य दलालले लगानीकर्तालाई उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) लाई सञ्चालन तथा व्यवस्थापन गर्ने प्रथम जिम्मेवारी सम्बन्धित सदस्य दलालको भएको सम्बन्धित सबैलाई स्मरण गराउँदै सदस्य दलालहरुबाट समस्या समाधान हुन सक्ने नसक्ने यकिन गरेपछि मात्रै नेप्से सपोर्टमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ ।

२. सदस्य दलालले लगानीकर्तालाई उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) तथा सदस्य दलालको डाटा सेन्टर सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित सदस्य दलालको हो । त्यसैले उल्लिखित टिएमएस र डाटा सेन्टरलाई अद्यावधिक गरी गराई सञ्चालन तथा व्यवस्थापन गर्न गराउन सम्पूर्ण सदस्य दलाललाई जानकारी गराईन्छ ।

३. हाल लगानीकर्ताको सेयर खातामा पर्याप्त मौज्दात भएर नभएको यकिन गरेर मात्रै आदेश प्रविष्ट हुन सक्ने व्यवस्था मिलाइएकोले लगानीकर्ता आफूले कारोबार गर्ने खाता (सदस्य दलालसँग खोलिने खाता) र सदस्य दलाललाई उपलब्ध गराएको सेयर निक्षेप खाता (डिपी एकाउन्ट) एउटै भएको सुनिश्चित गरेर मात्र कारोबार गर्ने गराउने गर्नुपर्छ ।लगानीकर्ताले कारोबारका लागि उपलब्ध गराएको निक्षेप खाता फरक पर्न गएमा वा एकभन्दा बढी कारोबार खातासंग आवद्ध गराएमा खरिद आदेश प्रविष्ट गर्न नसकिने व्यहोरा जानकारी गराईन्छ ।

४. कारोबारमा हुने जोखिम न्युनीकरणका लागि सदस्य दलालले लगानीकर्तालाई कुल कारोबार सीमा, कारोबार गर्न सकिने धितोपत्रको सीमा र कारोबार गर्न सकिने रकमको सीमा गरी ३ (तीन) किसिमका सीमा राखेका हुन्छन् । त्यसलै उल्लिखित सबै खाले सीमाहरुका आधारमा आफु कारोबार गर्न योग्य भएको यकिन सम्बन्धित दलाल मार्फत लगानीकर्ताले गर्नुपर्छ ।

५. कारोबारका लागि लगानीकर्ताले सदस्य दलाललाई उपलब्ध गराएको धितो (पेश्की/अग्रिम रकम) का आधारमा कारोबार सीमा निर्धारण हुने गर्दछ । कतिपय सदस्य दलालले पेश्की लिइसकेपछि पनि ग्राहकको सीमा अद्यावधिक नगर्दा ग्राहकले कारोबार गर्न नसकेको भेटिएको छ । यस सम्बन्धमा कुनै समस्या भए लगानीकर्ताले सम्बन्धित सदस्य दलाललाई सम्पर्क गरी समस्या अवगत गराउनु पर्छ ।

६. धितोपत्र कारोबार सञ्चालन विनियमावलीको विनियम ८ मा सदस्य दलालले धितोपत्र खरिद गर्ने ग्राहकबाट कम्तिमा २५ प्रतिशत रकम अग्रिम रुपमा लिन सक्ने व्यवस्था भएको हुँदा सो व्यवस्थाको परिपालना गर्ने गराउने दायित्व सम्पूर्ण सरोकारवालाको हुन आउँछ ।

७. पछिल्लो समयमा लगानीकर्ताले कारोबार गर्दै आएको साबिकको सदस्य दलाललाई छोडेर अर्को सदस्य दलालमार्फत कारोबार गर्न खोजेको देखिन्छ । यसो गर्दा साविकका सदस्य दलालसँग लेनदेन सम्बन्धि कुनै दायित्व भए सो फरफारक गरी नयाँ सदस्य दलालकोमा जानुपर्छ । लगानीकर्ताले साबिकको सदस्य दलालकोमा रहेको ट्रेडिङ एकाउन्ट निष्क्रिय गरी नयाँ दलालमार्फत कारोबार गर्ने गराउने व्यवस्था मिलाउन नेप्सेलाई अनुरोध गरी (इमेल) पठाउनु पर्छ । कतिपय लगानीकर्ताले यस्तो अनुरोध पठाउँदा साबिकको सदस्य दलाल तथा कारोबार खाता सम्बन्धी विवरण खुलाउने गरेको पाइदैन र अर्को सदस्य दलाल मार्फत कारोबार गर्न खोज्दा समस्या परेको देखिन्छ ।

८.सदस्य दलाल तथा ग्राहकबीच रकमको लेनदेन विद्युतीय माध्यमबाट हुन सक्छ । नेपाल राष्ट्र बैकले धितोपत्र कारोबारमा विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा प्रति कारोबार १० लाख रुपैयाँ कायम गरेको छ । नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपिएस मार्फत दैनिक १ करोड रुपैयाँसम्म र एनसिएचएल आइपिएस मार्फत २० करोड रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । यसमार्फत लगानीकर्ताले सदस्य दलाललाई रकम पठाउन र सदस्य दलालबाट रकम प्राप्त गर्न सक्छन् ।

९. सरोकारवालाहरुले नेप्सेको वेभसाईट मार्फत कारोबार सम्बन्धी विवरण हेर्न सक्नु हुन्छ । नेप्सेको आधिकारिक वेभसाइटमा नयाँ वेभसाईटको बेटा भर्सनको लिंक पनि राखिएको जानकारी गराउँछौं ।

१०. लगानीकर्तालाई अनलाईन कारोबार गर्न सिकाउनु सदस्य दलालको कर्तव्य हो । यस सम्बन्धी निर्देशिका नेप्सेले सदस्य दलालहरुलाई उपलब्ध गराएको छ । ग्राहकलाई अनलाईन कारोबार गर्ने गरी युजरनेम र पासवर्ड उपलब्ध गराउनु अघि त्यसलाई सञ्चालन गर्ने तरिका बारे सदस्य दलालले लगानीकर्तालाई जानकारी दिनुपर्छ । नेप्सेको वेभसाइटमा पनि नट्स सञ्चालन गर्ने सम्बन्धी जानकारीमूलक भिडियो र पाठ्य सामग्री राखिएको छ ।