दुई दिनको सेयर कारोबार रद्द गर्न लगानीकर्ताको माग

  २०७७ ज्येष्ठ १ गते ४:२२       विकासन्युज

काठमाडौं । सेयर बजारका लगानीकर्ताले गत मंगलबार र बुधबार भएको दुई दिनको सेयर कारोबार रद्द गराउन माग गरेका छन् । लगानीकर्ताले बिहीबार एक विज्ञप्ति जारी गर्दै लकडाउनकाे बीच भएका सबै काराेबार रद्द गराउन नेपाल धितोपत्र बोर्ड समक्ष माग तथा अनुरोध गरेका छन् ।

लगानीकर्ताका विभिन्न संघठन नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, सेयर लगानीकर्ता दवाव समूह र नेपाल पुँजीबजार संघले पछिल्लो दुई दिनको कोरोबारमा लगानीकर्ताहरुको न्युन सहभागिता र न्युन संख्यामा भएका सेयर कारोबार रद्द गराउन माग गरेका हुन् । त्यस्तै, बहुसंख्यक लगानीकर्ताहरुको व्यक्तिगत सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहयोग गरी अभिभावकको भूमिका निभाई दिन उनीहरुले बोर्ड समक्ष आग्रह गरेका छन् ।

त्यस्तै, आगामी दिनका कारोबार सञ्चालन गर्दा कोरोना भाइरसको प्रभाव अन्त्य नभएसम्मको लागि उपयुक्त विकल्पको खोजी गरी र पूर्ण स्वाचालित प्रविधिलाई प्राथमिकतामा राखी कारोबार गराउन समेत लगानीकर्ताको तर्फबाट अनुरोध गरेका छन् ।