आजबाट सेयर बजार पुनः बन्द

  २०७७ ज्येष्ठ १ गते १०:१९       विकासन्युज

काठमाडौं । सेयर बजार आज(बिहीबार)बाट पुनः बन्द हुने भएको छ । लकडाउनको बीचमा दुई दिन खुलेको बजार बिहीबारबाट पुनः बन्द गराउन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)लाई निर्देशन दिएको हाे ।

धितापत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोरोनाको संक्रमित बढ्दै गएको र लकडाउन पनि थप कडा भएकोले बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएको बताएका छन् ।

‘यसअघि लकडाउन केही खुकुलाे थियाे । बैंक तथा वित्तीय संस्थाहरू सबै खुल्न थालेका थिए । त्यसैले बजार खाेल्ने निर्णय गरि बजार खाेलेका थियाैं । तर पछिल्लाे समय काराेना संक्रमितकाे संख्या बढ्दै गयाे । बैंक तथा वित्तीय संस्थाहरू पनि केही मात्रमा खुल्ने भए । लगानीकर्तालाइ पनि असज हुने भयाे । त्यसैले, पुनः बजार बन्द गराउने  निर्णय गरेका हाैं ।’- अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । अब याे लकडाउन खुकुलाे नभएसम्म बजार बन्द हुने उनले जानकारी दिए ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि बिहीबारबाट बजार पुनः बन्द भएको जानकारी दिएका छन् । जेठ ५ गतेसम्म अर्थात अर्काे निर्णय नभएसम्मकाे लागि बजार बन्द हुने उनले बताए ।

लकडाउनकै बीचमा मंगलबारदेखि २ दिन खुलेको बजारमा लगातार नेगेटिभ सर्किट ब्रेक लागेकाे थियाे । यससँगै, लगानीकर्ताहरुले बजार बन्द गराउनु पर्छ भनेर चर्काे विराेध गरेका थिए ।