नेप्सेमा लाग्यो सर्किट ब्रेक

  २०७७ वैशाख ३० गते १२:३०       विकासन्युज


काठमाडौं । ५०औं दिनपछि खुलेको मंगलबारकाे सेयर बजारमा सर्किट ब्रेक लागेको छ । बजार खुलेको करिब साेढे एक घण्टामै नेप्से परिसूचक २५ अंकले अर्थात २.०२ प्रतिशतले बजार घट्दै सर्किट ब्रेक लागेको हो ।

यससँगै आजकाे लागि सेयर कारोबार बन्द भएको छ । नेपाल धिताेपत्र बाेर्डकाे नयाँ नियम अनुसार कारोबारको अवधि नसकिँदै २ प्रतिशतभन्दा बढी प्रतिशतले घटेपछि आजको लागि काराेबार बन्द भएकाे हाे । बजार दिनमा २ प्रतिशत भन्दा तलमाथि भएमा साे दिनकाे लागि काराेबार बन्द गरिने बाेर्डकाे नयाँ व्यवस्था रहेकाे थियाे ।

यस अवधिमा ८७ कम्पनीकाे १० कराेड ४३ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । साे अवधिमा कूल एक लाख ६ हजार ३ सय १२ कित्ता सेयर किनबेच भएकाे छ ।

बजारमा सबैभन्दा बढी नागरिक लगानीकाेषकाे सेयर काराेबार भएकाे छ । काेषकाे कूल ८ कराेड ८८ लाख ५७ हजार ५ सय ९० रूपैयाँ बराबरकाे सेयर  किनबेच भएकाे छ । जसकाे सेयर मूल्य प्रतिकित्ता २ हजार ३ सय ६७ रूपैयाँ रहेकाे छ ।

त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाकाे ४६ लाख, नबिल बैंककाे १५ लाख ७४ हजार ६ सय रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे छ । ग्लाेबल आइएमइ बैंककाे ३८ कराेड ५९ लाख रूपैयाँ बराबरकाे प्रमाेटर सेयर काराेबार भएकाे छ ।

त्यस्तै, काराेबारमा आएका सबै कम्पनीहरू राताम्मे भएका छन् ।