लकडाउनअघिको सेयर काराेबारको राफसाफ बैशाख २९ गतेदेखि हुने

  २०७७ वैशाख २८ गते २:४५       विकासन्युज


काठमाडौं । लकडाउनअघि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार भएको सेयरको राफसाफ तथा फछ्र्यौट २०७७ बैशाख २९ गते(सोमबार)देखि हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्गले एक सूचना मार्फत दोश्रो बजारमा लकडाउन अघि कारोबार भएका सेयरको राफसाफ सोमबारदेखि नियमित हुने जानकारी दिएको हो ।

साथै, सिडिएसीले सरकारको निर्देशन अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी/गराई, सामाजिक दूरी कायम गरी गराई धितोपत्र सम्बन्धी सेवा एक तिहाइ कर्मचारीद्धारा सञ्चालन गर्ने निर्णय अनुसार अबको कारोबारको राफसाफ नियमित गर्ने जनाएको छ । आगामी बैशाख ३० गतेदेखि दुई घण्टाको लागि सेयर कारोबार सञ्चालन हुने भएको छ ।

नेप्सेमा लकडाउन अघि अर्थात २०७६ चैत ९ गते आइतबार भएको कारोबारको राफसाफ हुन बाँकी रहेको सीडिएससीका अध्यक्ष चन्द्रसिंह साउदले जानकारी दिएका छन् ।  जुन भाेलिदेखि हुने भएकाे छ ।