नेपाल पुनर्बीमा कम्पनीको आईपीओ खुलेको २ दिनमै माग भन्दा बढी आवेदन, कतिले दिए ?

  २०७६ चैत्र ५ गते ६:३३       विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको साधारण सेयर (आईपीओ) खुलेको २ दिनमै माग भन्दा बढी आवेदन परेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङका अनुसार बुधबार साँझसम्ममा २ अर्ब ४४ करोड २७ लाख रुपैयाँ बराबरको आवेदन परिसकेको छ ।

सो अवधिसम्ममा एक लाख ८७ हजार २ सय जनाले कूल २ करोड ४४ लाख २७ हजार कित्ताको लागि आवेदन दिइसकेका छन् । जुन कम्पनीको माग भन्दा ६२ प्रतिशत बढी हो ।

कम्पनीले चैत ५ गते (मंगलबार) मात्रै एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । निष्कासन गरिएको पहिलो दिनमा नै २७ हजार ३५९ जना आवेदकले ४२ लाख ४० हजार २९० कित्ता सेयरकाे लागि आवेदन दिएका बिक्री प्रबन्धकले जनाएकाे छ ।

कम्पनीले जारी गरेकाे कूल सेयरमध्ये एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर आम सर्वसाधारणमा बिक्रीमा राखिएकाे छ । यस्तै, कूल आठ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँकी ७३ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।

जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । सेयर खरिद गर्न चाहने लगानीकर्ताले आगामी आज(चैत ४ गते) देखि छिटाेमा आगामी चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी आठ अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयर बिक्रीपश्चात् कम्पनीको कुल चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।