नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट, अधिकांश समूह राताम्मे

  २०७६ चैत्र ५ गते ४:२९       विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । दिनभर उतारचढाव देखिएको बजारमा कारोबार बन्द हुँदा नेप्से परिसूचक १६ अंकले ओरालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२८ प्रतिशतले घटेर १२५५.८० अंकमा अडिएको छ ।

त्यस्तै, कारोबार रकममा पनि कमी देखिएको छ । बजारमा कूल १७२ कम्पनीको एक अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब २८ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन (मंगलबार)को बजारमा कूल एक अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

बुधबार कारोबारमा आएका १२ समूहमध्ये ट्रेडिङ समूह बाहेक बाकी समूह राताम्मे देखिएका छन् । जीवन बीमा र निर्जीवन बीमा त्रिपल डिटिज अर्थात क्रमशः १३७ र ११२ अंकले ओरालो लागेका छन् । ट्रेडिङ समूह २४ अंकले उकालो लागेको छ ।

बजारमा कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । उनीहरुले दिनभरमा ९.२६ प्रतिशत गुमाएका छन् ।

दोहोरो अंकले घटेको बजारमा पनि जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले बढी कमाएका छन् । उनीहरुले अघिल्लो दिनको तुलनामा ९.९६ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता १५ सय ६७ रुपैयाँ रहेको छ ।