बजारमा तीव्र उतारचढाव, सामान्य अंकले बढ्यो नेप्से

  २०७६ चैत्र ३ गते ४:३८       विकासन्युज

काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । तीव्र उतारचढावको बीच नेप्से परिसूचक ३.३५ अंकले बढेर १३१६.३९ अंकमा पुगेर बन्द भएको छ ।

कारोबार शुरु भएको केही समयमै परिसूचक १३ सय अंकभन्दा तल अर्थात १२९२ अंकमा झरेको थियो । त्यसपछिको बजारमा पनि केही उतारचढाव देखिएको नेप्से परिसूचक अन्ततः सामान्य अंकले उकालो लागेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकमा सामान्य वृद्धि भएपछि सेयर कारोबारमा भने कमी आएको छ । दिनभरको बजारमा कूल एक अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४९ करोड रुपैयाँ घटी हो । अघिल्लो दिन अर्थात आइतबारको बजारमा कूल २ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

सोमबार कूल १८० कम्पनीको ४१ लाख ९१ हजार ४ सय १५ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको १२ करोड ८१ लाख र एनएमबी बैंकको ९ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबारको बजारमा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार ६८ रुपैयाँमा किनबेच भइरहेको छ ।

सामान्य अंकले बढेको बजारमा तीन समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । उकालो लाग्ने मध्ये निर्जीवन बीमा, जीवन बीमा र माइक्रोफाइनान्स समूह दोहोरो अंक अर्थात क्रमशः ५३, ४८ र २३ अंकले बढेका छन् । उत्पादनमूलक, होटल र म्युचअल फण्ड समूह क्रमशः ५२, ८ र ०.११ अंकले घटेका छन् । बाँकी समूह सिंगल डिजिटले उकालो लागेका छन् ।