प्राइम लाइफ इन्स्योरेन्सले साढे १२ प्रतिशत बोनस दिने

  २०७६ फाल्गुन २७ गते १:०४       विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ को लागि चुक्ता पुँजीको सो मात्राको सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । १२.५ प्रतिशतका दरले कम्पनीले २५ करोड ९ लाख ९२ हजार ४ सय २२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै, संस्थाले कर प्रयोजनको लागि एक करोड ३२ लाख १० हजार १ सय २८ रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरेको छ ।

उक्त प्रस्ताव फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

१२.५ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख रुपैयाँ पुग्ने छ ।

कम्पनीले यसअघि अर्थात २०७३/२०७४ को लागि पनि सेयरधनीलाई १२.५ प्रतिशत बोनस सेयर नै वितरण गरेको थियो ।