एनएलजी इन्स्योरेन्सको हकप्रद बिक्री खुला, कहिले सम्म भर्न पाइने ?

  २०७६ फाल्गुन २२ गते १२:४०       विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको आज (फागुन २२ गते)देखि हकप्रद बिक्री खुला भएको छ । कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर बिहीबारदेखि बिक्रीमा राखेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ रहेको छ । जसको ६० प्रतिशतका दरले कूल ३८ करोड ४२ लाख ४३ हजार ७ सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा रहेकाे छ ।

कम्पनीको अंकित रुपैयाँ १०० दरको ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक सेयरधनीले आजदेखि आगामी चैत १२ गतेसम्म उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

उक्त हकप्रदको लागि इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड थ्री’ रेटिङ प्रदान गरेको छ । जसले औसत आधार जनाउँछ ।

६० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।